सवारी दुर्घटना गरी फरार रहेका चालक पक्राउ
SamacharDesk – क्राइम ब्यूराे | २०७८ फाल्गुण ६, शुक्रबार

दुर्घटना गरी फरार रहेका गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
विहिबार विहान काठमाडौंको बालाजुस्थित गंगाहल नजिक सडकमा दुई जना व्यक्तिलाई ठक्कर दिएर फरार रहेका चालक धादिङ सिद्धलेख गाउँपालिका–४ का २९ वर्षीय प्रदिप थपलियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
दुर्घटना गरी फरार रहेका थपलियालाई सवारी साधनसहित जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङ, धादिङबेशीबाट पक्राउ गरिएको हो ।
थपलियालाई बागमती प्रदेश ०१–००५ ख ९३१४ नम्बरको धादिङ–काठमाडौं रुटमा चल्ने बससहित पक्राउ गरी महानगरीय प्रहरी वृत्त बालाजुमा ल्याइएको छ ।
बिहिवार विहान भएको दुर्घटनामा गाडीको ठक्करबाट काठमाडौंको मनमैजु बस्ने रसुवा कालिका गाउँपालिका–५ का १८ वर्षीय बिकाश तामाङ र काठमाडौं महानगरपालिका–१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गा माया थापा गम्भीर घाइते भएका थिए ।
घाइते दुवैलाई उपचारको लागि जनमैत्री अस्पताल लगिएकोमा त्यहाँबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
Categorized in अपराध