जी–सेभेनको शिखर सम्मेलनको आज समापन हुँदै
SamacharDesk | २०८० जेठ ७, आइतबार

विश्वका सात प्रमुख धनी राष्ट्रहरुको समूह ‘जी–सेभेन’ को शिखर सम्मेलनको आज समापन हुँदैछ । गत शुक्रबारदेखि जापानको हिरोसिमामा सुरु भएको सम्मेलन आइतबार समापन हुनलागेको हो ।
यस सम्मेलनमा रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने निर्णय भएको छ ।
वार्षिक ४ अर्ब डलर भन्दा बढीको हिरा निर्यात गर्ने रुसको हिरा निर्यात रोक्ने सम्मेलनको प्रमुख विषय रहेको थियो ।
हिराका साथै रुसबाट तामा, आल्मुनियम र निकलको निकासी पनि विश्व बजारमा जान नदिने सहमति जी सेभेनका नेताहरुले गरका छन् ।
बैठकपछि जारी गरिएको संयुक्त वक्तब्यमा रुसले कब्जा गरेको युक्रेनी भूमि फिर्ता गर्नुपर्ने विषयलाई जोडदार रुपमा उठाइएको छ ।
त्यस्तै सम्मेलनले चीनको बढ्दो आर्थिक तथा सैन्य गतिविधिप्रति चिन्ता ब्यक्त गरेको छ ।
चीनले हिन्द–प्रशान्त क्षेत्रमा बढाएको सैन्य तथा आर्थिक गतिविधिप्रति उनीहरुले चिन्ता ब्यक्त गरेका हुन् । चीनले आर्थिक मामिलालाई विशेष गरि सैन्य गतिविधिसँग जोडेको भन्दै जी सेभेनका नेताहरुले चीनसँग प्रत्यक्ष संवाद गर्ने निर्णय गरेका छन् ।
यस्तै उनीहरुले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनसँग पश्चिमा शक्तिहरू र जापानबीच तनाव थप बढ्न नदिन चीनसँग खुलेर कुरा गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
सम्मेलनमा अकस्मात सहभागी भएका युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुसमाथि दवाब दिन जी सेभेन राष्ट्रका प्रमुखहरुलाई आग्रह गरेका छन् ।
रुस विरुद्ध कडा प्रतिबन्ध लागनुका साथै युक्रेनका लागि थप हतियार र आर्थिक सहयोगका लागि आग्रह गरेका जेलेन्स्कीले थिए ।
जेलेन्स्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बेलायती प्रधानमन्त्री ऋषि सुनक, जर्मन चान्सलर ओलाफ सोल्जलगायत नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
Categorized in अन्तर्राष्ट्रिय