arin enterprises

पाटनमा यस वर्ष परम्परागत गाईजात्रा स्थगित

SamacharDesk – शिवेश शर्मा | २०७७ श्रावण १३, मंगलबार

कोरोना महामारीका कारण यस वर्ष पाटनमा गाईजात्रा पर्व स्थगित गरिएको छ ।

कृष्ण गुठीले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस वर्षको गाईजात्रा स्थगित गरिएको जनाएको छ ।

काठमाडौं उपत्यकाका साथै नेवारहरुको बसोबास रहेको विभिन्न स्थानमा दिवंगतको नाममा भाद्र कृष्ण प्रतिपदाका दिन गाईजात्रा मनाउने गरिन्छ । 

हाल लकडाउन खोलिएको भएपनि जात्रापर्व, सभा, समारोह लगायतका भीडभाड हुने कार्यक्रममा नेपाल सरकारले निषेध कायम राखेको छ ।

यस्तो अवस्थामा यसवर्षको गाईजात्रामा नगरपरिक्रमा रोकिएको हो । 

तर कृष्ण मन्दिरमा पूजा गरेपनि मनोकांक्षा पुरा हुने विश्वास समाजमा रहिआएको छ ।

सो दिनमा कृष्ण मन्दिर खोल्ने विषयमा प्रशासनको निर्णय अनुसार हुने पूजारी महेशधर राजोपाध्यायले बताए ।

‘अनावश्यक व्यक्तिलाई नआउन आग्रह गरिएपनि के हुन्छ भन्न सकिन्न । त्यसैले प्रशासनले जे भन्छ, त्यही गर्ने हो,’ पूजारी राजोपाध्यायले भने । ‘हुलमूल चाहि गर्न नदिने हो ।’

पाटनमा गाईजात्रा पर्व कृष्ण गुठीले आयोजना गर्ने गर्दछ । यहाँ गाईजात्रा पर्वको अवसरमा ३ जनालाई कृष्ण रुक्मिनी र सत्यभामाको भेषमा निकालिने गरिन्छ ।

गाईजात्राको पालोवालाको पुरोहितलाई कृष्ण बनाउने गरिन्छ । पालोवालाले पालो नलिएमा कृष्ण मन्दिर पूजारी परिवारबाट कृष्ण हुने परम्परा छ ।

Categorized in संस्कृति