इन्दिरा चलचित्र टीमबाट ‘गालय् वन’ को शो गर्दै
SamacharDesk – बिराज | २०७९ फाल्गुण २५, बिहिबार

नेपालभाषाको पहिलो बायोपिक ‘इन्दिरा धिमेय् मयजु’ निर्माण समूहबाट चलचित्र गालय् वनको च्यारिटी शो गर्ने भएको छ । आउँदो चैत्र ४ गते शनिबारका दिन सुन्धारास्थित सिटीसि मलमा समयबजिसहित चलचित्रको च्यारिटी शो गर्न लागिएको हो ।
चलचित्र ‘गालय् वन’ टीमलाई सहयोग र टेवा दिन लागि भन्दै इन्दिरा टीमले चलचित्र गालय् वनको च्यारिटी गर्न लागेको बताएको छ ।
नेपालभाषा चलचित्र क्षेत्रको बजार विस्तार गर्दै चलचित्रकर्मीहरुलाई हौसला दिन शो गर्न लागेको ‘इन्दिरा धिमेय् मयजु’ का लेखक र निर्देशक सुरेन्द्र तुलाधरले बताए ।
‘नेपालभाषाको चलचित्रको बजार विस्तार गर्न, चलचित्रको स्तरोन्नती गर्न सबै चलचित्रकर्मी एक हुनुपर्छ । यो उसको चलचित्र, त्यो अर्काको चलचित्र नभनी एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सके हामीले नेपालभाषाको चलचित्र क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न सक्छौं’ तुलाधरले भने ।
भविष्यमा पनि यसरी नै अरु चलचित्रहरुको पनि च्यारिटी शो गर्ने योजना रहेको तुलाधरले बताए ।
यसै बीच नेपालको पहिलो महिला धिमेय् वादक इन्दिरा लाछिमस्यूको जीवनिमा आधारित भएर निर्माण हुन लागेको चलचित्र ‘इन्दिरा, धिमेय् गर्ल’ को छायाङ्कन चाँडै नै सुरु हुन लागेको पनि निर्देशक तुलाधरले बताए । चाँडै नै चलचित्रको सुटिङको मिति घोषणा गर्न लागेको तुलाधरले जानकारी गराए ।
आउँदो ४ गते प्रदर्शन गर्न लागिएको चलचित्र ‘गालय् वन’मा शोभा महर्जन, किरण जोशी, कमल प्रसाद भट्ट, मञ्जु श्रेष्ठ, विज्ञान पक्का (चक्लेट), अजय दुवाल, अन्नपूर्णेश्वरी श्रेष्ठ, नानी मैयाँ प्रजापति, राजेश गोसाई लगायतको मुख्य भूमिका रहेको छ ।
त्यस्तै सुप्रभा गाईजु, श्रीजना प्रजापति, विक्रम प्रजापति, रजत श्रेष्ठ, रोशनी श्रेष्ठ, पूर्ण कुमार अवाले, विश्व नारायण भैल, सिताराम माक, महेश प्रकाश हाडा, जीवन त्वाती, कमला त्वाती, जुन सितिख आदीको पनि अभिनय रहेको छ ।
संयुक्त स्थापितले निर्देशन गरेको चलचित्रको छायाङ्कन र दृश्य सम्पादन बालकुमार मगरले गरेका छन् भने कथा, पटकथा र संवाद विज्ञान पक्का (चक्लेट) को रहेको छ ।
Categorized in पेजथ्री