गणेश चर्तुर्थी आजै मनाईंदै
SamacharDesk | २०८० आश्विन १, सोमबार

वैदिक सनातन हिन्दु धर्मावलम्वीहरुले आजका दिन विशेष गरेर भगवान श्री गणेशको पूजा आराधना गरी गणेश चौथी पर्व धुमधामसँग मनाइरहेकोछ ।
भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको विश्वास गरिन्छ । सामान्यतः तीजको भोलिपल्टको चतुर्थीलाई गणेश चतुर्थी भन्ने गरिए पनि यो पर्व चुतर्थीको ब्रत समेत आजै परेको हो ।
यस अवसरमा भगवान गणेशको पूजा आराधना गर्ने गरिन्छ । उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेश मन्दिरमा विशेष पूजा हुने गर्दछ ।
गणेशलाई लड्ड्डु चढाएर आफ्नो मनोकामना पुरा हुने विश्वास अनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरु लड्डु बोकेर पुगेका छन् । भगवान श्री गणेशलाई मङ्गलकारक देवता मानिन्छ । गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा चिनिन्छन् ।
आजको दिन श्रद्धापूर्वक श्री गणेशको व्रत लिनाले गणेश भगवान प्रशन्न भइ व्रतालुहरुलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता रहेको छ । भगवान गणेशको जन्म भाद्र शुक्ल चतुर्थीका दिन भएको मान्यता रहिआएको छ ।
हरेक मङ्गलवार भगवान गणेशको व्रत बस्ने व्रतालुहरुले आज सबैभन्दा शुभ दिन मानेर व्रत प्रारम्भ गर्ने गर्दछन् भने कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नुअघि हिन्दु धर्म संस्कारमा भगवान श्री गणेशको आराधना र स्मरण गर्ने प्रचलन रहेको छ ।
Categorized in संस्कृति