भूतप्रेत र पिशाच भगाउने पर्व "गथांमुगः"
SamacharDesk – Ram Dangol | २०८० आषाढ ३०, शनिबार

आज श्रावण कृष्ण पक्ष चतुर्दशी । आजको दिन नेवार समुदाय गथांमुगः पर्व मनाउने गर्छन् ।
नेपाल मण्डलमा धान रोपाईं जसलाई “सिनाज्या” भनिन्छ, भन्दा अघिको चाड सिथिनखस्लाई वर्षको अन्तिम र सिनाज्या पछि मनाइने गथामुंग चह्रेलाई वर्षको पहिलो चाड भनेर मानिआएको छ।
त्यस्तै, सिथिनखःलाई महिलाहरुको चाड मानिन्छ भने गथांमुगःलाई पुरुषहरुको चाड मान्ने गरिन्छ। गथामुंग चह्रे एक प्राचीन कालदेखि चलिआएको पर्व हो।
भूत, प्रेत,पिचास आदि नकारात्मक उर्जालाई ठेगान लगाउने चाडको रुपमा यसलाई लिइएको पाइन्छ। आजको दिन चोकचोकमा हरियो नर्कट, छ्वालि, काँस, निगालो आदिको तीन खुट्टे राक्षसको आकृति बनाई दिनभरि दोबाटो वा चौबाटोमा राखिन्छ ।
बेलुकी सबै टोलबासी मिलेर त्यो गथांमुगःलाई नगर बाहिर खोला छेउमा सेलाउन लग्छन् । काठमाडौँ उपत्यका मा अनेक कथा किस्साहरू भए जस मध्य धेरै किस्साहरू भूतसङ सम्बन्ध राख्ने पनि छन् ।
रोपाइँका बेला भूतहरूलाई प्रयोग गरेर खेतालामा लगाउने देखि ख्याकका डरलाग्दा किस्साहरू सम्म आज पनि काठमाडौँका गल्लीहरूमा सुन्ने गरिन्छ ।
औपचारिक रूपमा अक्षय तृतीयामा डाकिने यता भूतहरू रोपाइँ अवधिभर चलायमान हुन्थे भन्ने किस्सा छ । यसरी सोझै भूतहरू नै प्रकट भएर रोपाइँ गर्नेभन्दा पनि मानिसहरूमा भूत छिरेर असाधारण कार्य क्षमता उत्पन्न गराउने गर्दथे ।
अनि रोपाई पनि यस्ता भूतहरूलाई समाजमा नै राख्न सही नहुने भएकाले श्रावण कृष्ण चर्तुदशीमा भूतको प्रतिकृतिका रूपमा गथांमुगः बनाई बिदाइ गर्ने चलन छ ।
त्यस्तै काठमाडौं उपत्यकाका नेवार समुदायले यस पर्वलाई घर आँगन सफा सुघर गर्ने पर्वका रुपले लिने गरेका छन् । यो पर्व रोपाईँ सम्पन्न हुने समयमा पर्न आउँछ । रोपाईँको समयमा किसानहरु दिनरात खेतीपातीमा जुटेका हुन्छन् र सफाईमा ध्यान दिन पाउँदैनन् ।
यस्तो अवस्थामा खेतमा भएका किटाणुहरु घर पुग्ने मात्र होइन, संक्रमण हुनसक्ने सम्भावना पनि रहन्छ । यस्तो अवस्थामा घरमा भएका सम्पूर्ण अपवित्र तत्वहरु जस्तै भूत, प्रेत, पिशाच आदिको साथमा उपियाँ, उडुस आदिसहित रोगव्याधिको प्रतीकको रुपमा गथांमुगः फाल्ने गरिन्छ ।
यस दिनमा मानिसहरूले गठेमङ्गलको औँठीका रूपमा धातुको औँठी लगाउने चलन छ । सम्पूर्ण रूपमा नराम्रा तत्त्व र दुर्भाग्यबाट समेत गठेमङ्गलको औँठीले सुरक्षा दिने जनविश्वास छ ।
भूतलाई भगाउन मूल ढोकामा तीन वटा किल्ला ठोक्ने चलन गठेमङ्गलको एउटा सम्झन लायक अर्को चलन हो । पुराना ढोकाहरूमा त वर्षौँदेखिका गठेमङ्गलको किल्लाहरूले निकै दुलो पारिसकेका हुन्छन् ।
बच्चाहरूले भने बाँस र पात–पतिङ्गरले घण्टाकर्णको पुतला बनाएर बटुवाहरूसँग दान लिने चलन पनि छ ।
Categorized in संस्कृति