गथांमुगः र घण्टाकर्ण एकै होइनन्
SamacharDesk – बिनय राजाेपाध्याय | २०८१ श्रावण १८, शुक्रबार
श्रावण कृष्ण चतुर्दशीको दिन नेवाः समाजमा गथांमुगः चःर्हे पर्व मनाउने गरिन्छ । गथांमुगःलाइ घण्टाकर्ण पनि भन्ने गरीन्छ, जुन सहि होइन । किनभने घण्टाकर्ण भन्ने राक्षसको बेग्लै कथा छ ।
गथांमुगः अन्तै कतैको देवता नमान्ने नास्तिक हो । सायद उ भारत, काशीको हुनुपर्छ किनकि त्यहाँ कर्णघण्टा भन्ने पोखरी छ र नजिकै घण्टाकर्णको मुर्ति पनि छ । त्यो घण्टाकर्णको पौराणिक कथा र काठमांडौं उपत्यकाको गथांमुगःको पौराणिकता अनि यो गथांमुगः चाड मान्ने कारणबारे धेरै नै भिन्नता छ ।
रुद्रयामल तन्त्रको कथामा रहेको घण्टाकर्णलाइ तानतुन पारेर काठमाडौं उपत्यकाको संस्कृतिमा मिलाएर हेरिँदा त्यस्तो देखिएको मात्र हो ।
कुनै बेला नेवार शब्दलाई सञ्चार माध्यमले आफुखुशी उल्था गरी नेवार भाषामा गं भनेको घण्टा र था भनेको वजाउने वा अड्केको र मुगः भनेको ह्यामर यानेकि घन मानेर यो गथांमुगः भनेको घण्टा बजाउने हो र यो घण्टाकर्णसँग नै सम्वन्धित चाड हो भनी फुकिदियो । जस्ले गर्दा यो भ्रम श्रृजना भएको हो ।
आज पनि यही कुरालाई नजीर बनाई आफ्नो मौलिक परम्परालाई पाखा लगाई भ्रमलाई नै अँगीकार गरी बस्न त भएन नि । जबकि यो चाडको नाम गथांमुगः हो गंथामुगः होईन ।
वास्तवमा गथांमुगः भनेको दोबाटो चौबाटो चोक इत्यादी हो । किलागः, प्यंगःथां, नौमुगः, चिकंमुगः, प्यङ्गःथां आदि टोलको नामको अन्तिममा आएका यस्तै गः, थां, मुगःले पनि यो कुराको पुष्टि हुन्छ ।
परापूर्वकालमा नेपालमण्डल प्रशस्त उब्जाउशील भूमि भएको ठाउँ थियो । यहाँ उब्जनी मनग्ये हुन्थ्यो । खेती किसानी सबै भूमिमा गर्न त्यो बेला जनसंख्या कम भएको कारणले असम्भब प्रायः थियो ।
घाम, पानी, असीना, हावा, हुरी केही नभनी खेती किसानी सबै भूमिमा गर्नु मुश्किल थियो । केही गरी बाली बिग्रेमा वा खेती किसानी गर्न नपाएमा बर्षभरीको लागी अन्न पुर्याउन सकिंदैन थियो र अन्न संकट हुन सक्थ्यो । त्यसैले यो काम मरी मरीकन जसरी भएपनि यहाँका किसानहरुले गर्नु नै पर्दथ्यो ।
भनिन्छ रोपाँइको बेला घरमा कोही ब्यक्ति मरेमा पनि मृत व्यक्तिको शवको अन्त्येष्टि समेत नगरी रोपाँइ नसकेसम्म सुकुलमा बेरेर एक कुनामा थन्क्याएर राखिन्थ्यो र सबै परीवार रोपाँइमा नै ब्यस्त भई रहन्थ्यो । रोपाँइ सकी सकेपछि मात्र उक्त शवको काजक्रिया गरीन्थ्यो रे ।
त्यसैले यस रोपाँइ गर्ने कार्यलाई नेपालभाषामा सिनाज्या भनिन्छ । सिनाको अर्थ मरेर र ज्याको अर्थ काम भन्ने हुन आउँछ । अर्थात मरी मरीकन जसरी भए पनि गर्नु पर्ने काम ।
मरी मरीकन जसरी भए पनि जे गरेर भएपनि गर्नु नै पर्दथ्यो यो काम । नत्र त वर्षभरी राज्यमा अन्न संकट पर्न सक्थ्यो । अनि भोकमरी लाग्न सक्ने सम्भाबना एकदमै थियो
साँच्चै यो सिनाज्या भनेको आफ्नो जिउ ज्यानै फालेर गर्नु पर्ने काम थियो । मरी मरीकन जसरी भए पनि जे गरेर भएपनि गर्नु नै पर्दथ्यो यो काम । नत्र त वर्षभरी राज्यमा अन्न संकट पर्न सक्थ्यो । अनि भोकमरी लाग्न सक्ने सम्भाबना एकदमै थियो ।
माटो सम्याउनु, डल्ला फोर्नु, सिंचाईको लागी कुलो खन्नु आदि इत्यादि किसानी काम गर्नु भनेको साधारण काम होईन । यो त एकदमै बलिया बलवानहरुले मात्र गर्न सक्ने काम थियो । तर राज्यमा सबै मान्छेहरु बलवान हुंदैनथ्यो ।
त्यसैले यस्तो काम गर्न भूतको साधना नगरी सम्भव थिएन । यस्तो काम गर्न भूतको साधना गरी मान्छेमा भूत चढाई यो काम फत्ते गर्नु पर्दथ्यो ।
प्रत्येक सिनाज्या भन्दा पहिले अक्षय तृतीया भन्दा एक दिन अघि भूत दुकायेगु भनी शहरमा भूतलाई भित्र्याउने गरिन्थ्यो । अनि यो भूत चढाएको मान्छेको सहायताले सिनाज्या सजिलै गर्न सकिन्थ्यो ।
सिनाज्या सकेपछि यो भूतहरुको कुनै कामै थिएन । त्यसैले यिनीहरुलाई भगाउनु पनि जरुरी थियो । किनकि साधारण मान्छेले भन्दा भूत चढेको मान्छेले एकदमै बढि काम त गथ्र्यो, साथै एकदमै धेरै धेरै नै खाना पनि खान्थ्यो । त्यसैले यी भूतहरुलाई बर्षभरी नै पालीराख्न त असम्भब प्रायः थियो ।
यसै कारणले गर्दा भूतहरुलाई भगाउनु जरुरी थियो । भूतहरुलाई सिनाज्या सकेपछि यानेकी भूतहरुबाट चाहिने जति काम लिई सकेपछि यिनीहरुलाई श्रावण कृष्ण चतुदशी अर्थात दिल्लागा चःर्हे त्यसो भनेको गथांमुगः चःर्हेको दिन तन्त्रोक्त बिधिपूर्वक भगाईन्थ्यो ।
गथांमुगः भनेको भूतहरु बस्ने सामुहिक ठाउँ हो । जुन छ्वास (क्षेत्रपाल, चौबाटो) हो ।
त्यसैले यस दिन आ–आफ्नो टोलको छ्वासमा नर्कटको तीन वटा मुठालाई उठाएर बिहानैदेखि चौबाटोहरुमा ठड्याइन्छ । अनि घरघरबाट भूत भगाएको स्वरुप पुतलीहरु बनाई त्यस नर्कटमा झुण्ड्याउन पर्ठाईन्थ्यो ।
त्यस नर्कटको मुठामा डरलाग्दो भूत वा भूतनीको आकृति बनाई, टाँसी, एक जना कथित तल्लो जातको बालकको शरीरमा मनपरी लेखी बसाइन्छ । र त्यस बालकलाई पेट टन्न भइकन दहि चिउरा खुवाई, “ॐ शान्ति जय नेपाल आजु जय हा......“ भन्न लगाउँदै, एउटा खाली दहिको भेगतमा पैसा माग्न लगाइन्छ ।
साँझ परेपछि टोलवासीहरु सबै मिलि त्यसमा विभिन्न तान्त्रिक विधिबाट पुजा गरी दहि चिउरा खुवाई एक मुठा पराल बाली त्यस नर्कटको झ्याङ्गलाइ तीनपल्ट परीक्रमा गर्न लगाई ढालीन्छ ।
अनि त्यसैमा त्यो बच्चालाई बसाएर टोलवासीहरु मिली तानेर खोलामा लगी मिल्काइन्छ । नर्कटलाई खोलामा वगाइसके पछि सबैजना मुख धोएर घर फर्कने चलन छ ।
यस दिन भूतहरुसँग यताउति जहाँ तहीँ भेट हुनसक्ने भएकोले सबैले अनिवार्य रुपमा फलामको औंठी लगाउनु पर्छ नत्र त्यो ब्यक्तिलाई भूतले दुःख दिन्छ भन्ने मान्यता समाजमा छ । भनिन्छ फलाम धारण गरेको ब्यक्तिलाई भूतले दुःख दिंदैन ।
बेलुकि पख सबैको घरमा भूत फेरी भित्र आउँला भनी ढोका ढोकामा तिनखुट्टे किल्ला ठोकिन्छ र बिशेष पूजा गरी तारण लगाइन्छ । त्यसपछि घरको मूल ढोका बन्द गरी त्यो रात कोही पनि बाहिर जाँदैन ।
यस प्रकारले भूत भगाई घरमा शुद्ध गर्दाखेरी घरमा बास बसीरहेको भूतप्रेतहरु पनि भागेर जान्छन् भन्ने जनबिश्वास छ । यस प्रकार गर्ने घर शुद्धिलाई गथांमुगः ब्यंकेगु भनिन्छ ।
यदि सिनाज्या नसकेको भए सिनाज्या सकेपछि मात्र सो घरमा गथांमुगः ब्यंकेगु गर्ने चलन पनि छ ।
यस गथांमुगः चःर्हेको रात बोक्सीहरु आफ्नो बोक्सी बिद्यालाई बढाएर अझै शक्तिशाली हुन मशानको शक्तिपीठमा गई साधना गरी बस्दथ्यो
यस दिन यसरी भूत प्रेत पिशाचहरु सबैलाई नगर बाहिर धपाई पठाउने भएकोले कुबिद्या (बोक्सी बिद्या) सिक्न चाहनेहरु, तान्त्रिकहरु मशानमा गई भूतहरुलाई लोभ देखाई, ललाई फकाई वशमा लिई आफ्नो स्वार्थ सिद्ध गर्नुको साथै आफ्नो तन्त्र शक्तिलाई अझै सशक्त बनाउने गर्दथे ।
भनिन्छ, बोक्सि विद्यामा तब मात्र पूर्ण पारङ्गत भएको मानिन्छ, जब कोहि बोक्सी सानो भई करुवाको मुखबाट छिरी टुटीबाट सकुशल वाहिर आउन सक्छ । त्यस्तै अजङ्गको पिपलको रुखलाई आफ्नो हत्केलामा राखि उल्ट्याउन सक्दछ ।
यस्तो अलौकिक क्षमता हासिल गर्न तान्त्रिक तथा बोक्सीहरु यस दिन आफ्नो बोक्सी बिद्यालाई अझै तिखार्न मशानमा रहेको शक्तिपीठमा पुग्ने गर्दछ ।
त्यसैले यस गथांमुगः चःर्हेको रात बोक्सीहरु आफ्नो बोक्सी बिद्यालाई बढाएर अझै शक्तिशाली हुन मशानको शक्तिपीठमा गई साधना गरी बस्दथ्यो ।
यस बेला उनीहरुले कुनै ब्यक्तिको बली भोग दिन सो ब्यक्तिको हंस–आत्मा तानी कुचोको पुच्छर राखी, चार खुट्टाले टेकाई खसि बोकालाई जस्तै डोरीले बाँधेर शक्तिपिठमा घिसार्दै लगी गोलको मासु, बालुवाको चिउरा बनाई खुवाएर बली दिंदा रहेछन् ।
भनिन्छ कि, यस्तो बलि आफ्नै लोग्नेको दिन सके त्यो बोक्सी जस्तो शक्तिशाली अरु कोही पनि हुन सक्दैन अरे । यसरी हंस तानेको ब्यक्ति छ महिना भन्दा बढि जिउँदो रहन पनि सक्दैन अरे भन्ने हाम्रो समाजमा बिश्वास रहि आएको छ ।
यस प्रकारको चित्रहरु हामीले देउपाटनको जयबागीश्वरको मन्दिरमा र पाटनको दरवार स्क्वायर नजिक म्वःमदु द्यः (छिन्नमस्ता) को भित्तामा पनि देख्न सक्छौं ।
यस दिन उनीहरु यस ठाउँमा मध्य रातमा आउँदा र जाँदा आफ्नो औंलालाई मैनबत्ति जस्तै बाली बाटो नै उज्यालो बनाउँदै खुट्टा जमीन भन्दा केही माथि हावामा टेकि आउँछ । जस्ले जति वटा औंला बाली आउँछ उनीहरु त्यत्तिकै जान्ने रहेछ भन्ने पनि मान्यता छ ।
कतिपय मानिसहरु त यस्ता बोक्सीहरुलाई ठीक गर्नु पर्छ भन्दै मशान जाने बाटोमा धुकेरै बसी यसरी आउनेहरुलाई सास्ती गर्नेहरु पनि छन् अरे । यसरी धुकी बस्नेहरुमा तान्त्रिकहरु पनि हुन्छन्, जस्ले यस्ताहरुलाई तारण राखी सास्ती गर्दछन् ।
तर सास्ती गर्ने भन्दा सास्ती खाने बलिया अनि शक्तिशाली भएदेखि उल्टो उनीहरुलाई नै सास्ती गरी भगाएर तन्त्रशक्तिले कहाँ कहाँ पुर्याई दिन्छन्, जस्ले गर्दा ती व्यक्ति रात रात भर घर फर्कने बाटो खोज्दै ठिक्क हुन्छन् । यसरी अल्मलिने अनुभव पाएका बुढापाकाहरु आज पनि भेटिन्छन् ।
यस गथांमुगःको मध्यरात भूत प्रेतको साधना गरे चाँडै नै तन्त्र विद्या सिकीने जनबिश्वास पनि छ ।
अझ कसै कसैले त गथांमुगःलाइ नामै बिगारी गठेमङ्गल पनि भनेको सुनिन्छ । यो त बिकृति नै हो
हुनत भुत प्रेतकाे कुरा आजकालको युवा पिँढीलाई अपाच्य होला तर, हाम्रो पूर्खाले भने यसलाई स्वीकारेको छ ।
यो नेपालमण्डलको आफ्नै परम्परा हो, संस्कृति हो । आफ्नो मौलिक संस्कृति माथि गर्व गर्न सिकौं । कृपया गथांमुगःलाई घण्टाकर्ण भनी बुझ्ने बुझाउने काम नगरौं ।
अझ कसै कसैले त गथांमुगःलाइ नामै बिगारी गठेमङ्गल पनि भनेको सुनिन्छ । यो त बिकृति नै हो । गथांमुगःलाई बाह्य सांस्कृतिक आक्रमणवाट जोगाऔं ।
Categorized in विचार