arin enterprises

वडा दशैंको पहिलो दिन घटस्थापना

SamacharDesk | २०७९ आश्विन १०, सोमबार

हिन्दू धर्मावलम्वीहरुको महान पर्व वडा दशैं आजदेखि प्रारम्भ भएको छ ।

बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्वक जमरा राख्ने गरिन्छ ।

यस वर्ष घटस्थापनाको शुभ साइत आज बिहान १० बजेर २३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आज घटस्थापना गर्दा मकै, गहुँ र जौ रोपेर जमरा राख्ने चलन छ । गहुँ र जौको अंकुर दुर्गादेवीको प्रियवस्तु भएकाले यस दिन रोपेर विजया दशमीको दिन माता दुर्गालाई चढाएर टीका तथा प्रसाद ग्रहण गर्ने चलन छ ।

साथै आज रोपिएको जमरा टीकासंगै समृद्धिको प्रतीकको रुपमा लगाउने गरिन्छ । वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरिन्छ ।

आज विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भनिएको हो ।

काठमाडौंको हनुमाढोकास्थित दशैंघरमा सरकारी स्तरमा घटस्थपाना गर्ने गरिन्छ । दुर्गादेवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजा गरिन्छ ।

सनातन् धर्मावलम्वीहरुले महाकालीलाई शक्ति, महालक्ष्मीलाई धनधान्य तथा ऐश्वर्य र महासरस्वतीलाई विद्या तथा वुद्धिका प्रतीकका रुपमा पूजा गर्ने गर्दछन् ।

Categorized in संस्कृति