arin enterprises

ग्लोबल र बिओकेबीच मर्जर सम्झौता

SamacharDesk | २०७९ आषाढ २, बिहिबार

देशका ठूलठूला बैंकहरु मर्जर प्रक्रियामा अघि बढिरहेको छ । गत साता मात्र नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जर भएको थियो ।

त्यस्तै दुई ठूला बैंक ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गाभिने सम्झौता भएको छ । दुबै बैंकका तर्फबाट आज बिहान मर्जरको समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

बराबरी हैसियत हुने गरी दुबै बैंकबीच मर्जर सहमति भएको हो । सहमति अनुसार मर्जरपछि बन्ने बैंकको नाममा ग्लोबल आइएमई बिओके बैंक हुनेछ ।

मर्जर सहमति पत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

नेपाल राष्ट्र बैंकले असारभित्र मर्जरमा जाने बैंक वित्तीय संस्थाहरुलाई सुविधा दिने भएकाले पनि यी दुई बैंकले मर्जर सहमति गरेका हुन ।

यस्तै बिओकेका बर्तमान सीइओ श्रवण मास्के दोस्रो तहमा रहनु हुने छ । मर्जरपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ ।

पुँजीका हिसाबले मर्जरपछि उक्त बैंक सर्वाधिक ठूलो हुने छ भने पुँजी कोष ५२ अर्ब २९ करोड रुपैयाँको हुने छ ।

यस्तै बैंकको जगेडा कोष १७ अर्ब ८७ करोड रुपैयाँ पुग्ने छ भने कुल निक्षेप ३ खर्ब ७३ अर्ब रुपैयाँ पुग्ने छ ।

Categorized in बिजनेस