arin enterprises

टी–ट्वान्टी विश्वकपमा स्कटल्याण्डको सुखद सुरुआत

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ आश्विन ३१, सोमबार

आठौं संस्करणको टी–ट्वान्टी विश्वकपमा स्कटल्याण्डले सुखद सुरुआत गरेको छ ।

सोमबार भएको खेलमा वेस्ट इन्डिजलाई ४२ रनले हराउँदै स्कटल्याण्डले सुखद सुरुआत गरेको हो ।

स्कटल्याण्डले दिएको १ सय ६१ रनको लक्ष्यलाई पछ्याएको पूर्व च्याम्पियन वेस्ट इन्डिज १८.३ ओभरमा १ सय १८ रन मात्र बनाएर अलआउट भयो ।

वेस्ट इन्डिजका लागि पूर्व कप्तान जासन होल्डरले सर्वाधिक ३८ रन बनाउँदा कायल केयर्सले २० रन बनाए ।

ब्राण्डन किंग्सले १७ रन र ईभान लुईसले १४ रन बनाउँदा अन्य ब्याटस्म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

वेस्ट इन्डिजलाई सस्तैमा रोक्न स्कटल्याण्डका मार्क वाटले ३ विकेट लिँदा ब्राड होल र मिचेल लिग्सले समान २/२ विकेट लिए । सफियान सरिफ र जोस डाभियले समान १\१ विकेट लिए ।

त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो ।

स्कटल्याण्डका लागि जर्जि मुन्सेले ९ चौका प्रहार गर्दै अविजित सर्वाधिक ६६ रनको अर्धशतकीय ईनिङ खेले । कलुम म्याकलोडले २३ रन बनाउँदा मिचेल जोन्सले २० रनको योगदान दिए ।

यस्तै क्रिस ग्रिभ्स र कप्तान रिचि बेरिङ्टनले समान १६/१६ रन बनाएका थिए । 

बलिंग मार्फत वेस्ट इण्डिजका लागि अल्जारी जोसेफ र जासन होल्डरले समान २/२ तथा आडेन स्मिथले १ विकेट लिए ।

जितसँगै स्कटल्याण्ड २ अंक सहित समूह ’बी’ को शीर्ष स्थानमा उक्लिएको छ भने वेस्ट इन्डिज अंक बिहिन समुहको पुच्छरमा रहेको छ । 

Categorized in स्पाेर्ट्स