बाजुराको सरकारी वकिल कार्यालयको आफ्नै भवनबाट सेवा सुरु
SamacharDesk – बिकाश | २०७७ पौष २२, बुधबार

जिल्ला सरकारी वकील कार्यालय, बाजुराले आफ्नै नवनिर्मित भवनबाट सेवा दिन थालेको छ । बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ मा कार्यालयको नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न थालेको हो ।
सो स्थानमा कार्यालयको आफ्नै नाममा रहेको एक हजार २ सय २५ वर्ग मिटर जग्गामा कार्यालय भवन निर्माण सम्पन्न भएपछि आफ्नै भवनबाट सेवा दिन थालेको हो । कार्यालयले यसअघि बडिमालिका–८ मा भाडामा रहेको भवनबाट सेवा दिँदै आएको थियो ।
नवनिर्मित कार्यालयको ३ तले भवनमा जम्मा १७ वटा कोठाहरु रहेका छन् । पहिलो तलामा स्टोर, अभिलेख कक्ष, मिटिङ हल, थुनुवा कक्ष र पाले पहरा कक्ष रहेका छन् ।
त्यसैगरी दोस्रो तलामा जिल्ला न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ताको कार्यकक्ष, हेल्प डेस्क, बयान कक्ष, मुद्दा फाँट तथा साक्षी भेटघाट कक्ष, प्रशासन र लेखा कक्ष छन् । भवनको तेस्रो तलामा कार्यालय प्रमुखको आवास रहेको छ ।
जम्मा ३ करोड ९४ लाख ६ हजार ७ सय १२ रुपैयाँ ६७ पैसा लागत अनुमान गरिएको भवन निर्माणका लागि निर्माण कम्पनीसँग भ्याट बाहेक रु. १ करोड ७३ लाख २९ हजार २ सय १७ रुपैयाँ ९० पैसामा सम्झौता भएको थियो ।
Categorized in समाज