काभ्रेमा सामूहिक इहि कार्यक्रम सम्पन्न
SamacharDesk – के.के. मानन्धर | २०८१ बैशाख ३०, आइतबार

काभ्रेको बनेपामा सामुहिक इहि कार्यक्रम सम्पन्न भएको छ । परम्परालाई निरन्तरता दिनको लागि भन्दै वाँख्यः टोलले सामुहिक इहि कार्यक्रमको आयोजना गरेको हो ।
बनेपास्थित जापाली गुठी घरमा सम्पन्न इहि कार्यक्रममा समुदायका ३८ जना बालिकाहरुको सहभागीता रहेको आयोजक संस्थाका विश्वराम मानन्धरले जनाए ।
दुई दिने कार्यक्रम अन्तर्गत वैशाख २७ गतेका दिन दुस्वः पूजा गरिएको थियो भने २८ गते अक्षय तृतीयाका दिन कन्यादान गरिएको थियो ।
इहि परम्परा अनुसार बालिकालाई बेल नामक एक फललाई कन्यादान दिइन्छ । यस कन्यादान पछि उक्त बालिका भविष्यमा कुनै पनि अवस्थामा कहिल्यै विधुवा बस्न नपर्ने मान्यता रहेको छ ।
इहिको परम्परा अनुसार सहभागी हुने बालिकाले दिनभरी ब्रत बसेर पूजाविधि सम्पन्न गर्नुपर्ने हुन्छ ।
पूजा अवधिभरका विभिन्न गतिविधिहरुको धार्मिक मान्यताहरु पनि रहेका छन् भने त्यस्ता गतिविधिले इहि गरिएका बालिकालाई गृहस्थी जीवनमा गर्नुपर्ने विभिन्न कामहरुको ज्ञान समेत दिने गर्छ ।
श्रीमानको मृत्यु पश्चात् श्रीमती पनि अनिवार्य सती जानुपर्ने कुप्रथालाई उन्मुलन गराउनका लागि सांस्कृतिक विद्रोहको रुपमा इहि संस्कार सुरु गरिएको कार्यक्रमका एक अग्रज सहभागीले बताए ।
त्यस्तै, तत्कालीन नेपालमण्डलमा मुसलमानहरुले आक्रमण गर्दा अविवाहित किशोरीहरुलाई अपहरण गर्ने गर्दा बालिकाहरुलाई बचाउन बेलसँग सांकेतिक रुपमा बिबाह गरिदिएर सिउँदोमा सिन्दूर राख्ने चलन सुरु भएको पनि बताइन्छ ।
Categorized in संस्कृति