आजबाट गुंला पर्व शुरु
SamacharDesk – बिराज | २०७८ श्रावण २५, सोमबार

नेवार समुदायका बौद्ध धर्मावलम्बीहरुले एक महिनासम्म मनाउने गुंला पर्व आजबाट शुरु भएको छ ।
आजबाट नेवाः समुदायका बुद्धिष्ट धर्मावलम्बीहरु एक महिनासम्म विहान सबैरै उठेर भगवान बुद्धको उपासना गर्दै स्वयम्भु महाचैत्य लगायत विभिन्न चैत्य तथा बौद्ध विहारहरु परिक्रम गरी यो पर्व मनाउने गर्दछन् ।
यस क्रममा डाँडामाथि रहेका चैत्यहरुको परिक्रमा गर्न जानुपर्ने मान्यता पनि रहेको छ । नामसंगिती पाठ पनि गर्ने गरिन्छ भने युवाहरुको समूह धाः बाजा बजाउँदै चैत्य परिक्रमा गर्ने गर्दछन् ।
नेपाल सम्वत अनुसार दशौं महिनामा पर्ने यस गुंला महिनालाई स्वयम्भु महाचैत्यको सेवा गर्ने महिनाको रुपमा लिइन्छ । यो महिनाभर काठमाडौंको स्वयम्भु महाचैत्यमा ठुलै मेला लाग्ने गर्दछ ।
गुंला महिनामा पानी पर्ने र रुघाखोकी, ज्वर लगायत सरुवा रोगहरु फैलिने सम्भावना बढि हुन्छ । यस्तो अवस्थामा शारिरीक व्यायाम गर्दै रोग प्रतिरोधी क्षमतालाई बलियो बनाइराख्नुपर्ने समय हो ।
यस दृष्टिकोणबाट बिहानै उठेर डाँडा चढ्न जानुलाई शारिरीक व्यायामको हिसाबबाट पनि हेर्न सकिन्छ ।
गुंला शब्दकाे अर्थ
गुंला शब्दको सम्वन्धमा विभिन्न भनाईहरु रहेका छन् ।
नेपालभाषामा ‘गु’ को अर्थ ९ हो भने ला अर्थ महिना हुन आउँछ । नवौं महिना भएको यसलाई गुंला भनिएको भनाई रहेको छ ।
हुन त नेपाल सम्वतका महिना अनुसार यो दशौं महिना हो । तर कार्तिक कृष्ण प्रतिपदाबाट गणना गर्दा नवौं महिना भएकोले यसलाई सोही अनुसार गुंला भनिएको अध्येताहरुको भनाई रहेको छ ।
यसैगरी ‘गुँ’ को अर्थ पहाड वा डाँडा पनि हुन आउँछ । महिनाभरी डाँडा चढ्दै चैत्यको सेवा गर्न जाने महिना भएकोले पनि यसलाई गुंला भनिएको विश्वास पनि छ ।
गोपालराज वंशावलिमा यस महिनालाई गुणिला भनि उल्लेख गरिएको छ ।
यस महिनाभरि गाईजात्रा, जनै पुर्णिमा लगायतका विभिन्न चाडपर्वहरु पर्न आउँछ । विभिन्न धार्मिक र सामाजिक, साँस्कृतिक गुणै गुणले भरिएको महिना भएकोले यसलाई गुणिला भनिएको र कालान्तर यहि गुणिला अपभ्रम्स हुँदै गुंला भनिएको पनि मान्यता रहेको छ ।
गुंला सम्वन्धि किम्वदन्ती
स्वयम्भु महापुराणमा उल्लेख भए अनुसार महामञ्जुश्रीले खड्गले काटेर काठमाडौं उपत्यकामा भरिएको पानी चोभारबाट बाहिर पठाए ।
त्यसपछि गुरु शान्तिकराचार्यले स्वयम्भु महाचैत्यलाई व्यवस्थित बनाएर स्थापना गर्नुभयो । स्वयम्भु महाचैत्य बनाउनु अघि नै यहाँ चैत्य सेवाको परम्पराको शुरुवात भइसकेको थियो ।
सोही चैत्य सेवाको परम्परा नै आजसम्म गुंला पर्वको रुपमा निरन्तर भइरहेको हो ।
Categorized in संस्कृति