स्पेनमा हस्तकलाको प्रवद्र्धन गर्नुपर्ने व्यवसायीहरुको जोड
SamacharDesk | २०७९ श्रावण ३१, मंगलबार

नेपाल सरकारबाट स्पेन अधिराज्यका लागि नेपालका नवनियुक्त राजदूत डा. शर्मिला पराजुली ढकाललाई नेपाल हस्तकला महासंघले आज स्वागत तथा बधाई ज्ञापन गर्नुभएको छ ।
सो अवसरमा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला क्षेत्र रोजगारी सिर्जनासंगै विदेशी मुद्रा भित्राउने देशको निर्यातमूलक उद्योग व्यवसाय भएको र गत आव २०७८/०७९ मा ४ अरव भन्दा बढिको हस्तकलाको वस्तुको निर्यात भएको साथै सोही परिमाणमा आन्तरिक बजारमा कारोवार भएको बताउनुभयो ।
उहाँले हस्तकला क्षेत्रले देशको कला र संस्कृतिलाई विश्वसामु परिचित गराएको बताउनुभयो । उहाँले नवनियुक्त राजदूतलाई स्पेनमा नेपाली हस्तकला वस्तुको बजार प्रवद्र्धनको लागि नेपाल एकदेशीय मेला, क्रेता विक्रेता वैठक र स्पेनमा नियमित रुपमा हुने व्यापार मेला प्रदर्शनीहरुमा नेपाली हस्तकला उद्यमी व्यवसायीहरुको सहभागिताको लागि आवश्यक सहयोग गरिदिनको लागि पनि अनुरोध गर्नुभयो ।
महासंघका उपाध्यक्ष दिल्लीरत्न तुलाधरले स्पेनमा रहेका निकासीकर्ता तथा व्यापारीहरुको बारेमा सूचना राजदूतावासबाट प्राप्त भएमा महासंघले सिधै सम्पर्क गर्न सकिने र स्पेनमा हस्तकलाका वस्तुहरुको प्रवद्र्धन गर्न सकिने जानकारी गराउन भयो ।
निकासीकर्ता डा. गोविन्द टन्डनले राजदूत भएर कुनै देशमा गईसकेपछि के गर्ने भन्ने निश्चित गर्नुपर्ने बताउँदै स्पेनमा नेपाली हस्तकला लगायतका वस्तुहरुको प्रबद्र्धन तथा निकासी अभिबृद्धिका लागि दूतावास परिसरमा प्रदर्शनी कक्षको व्यवस्था गर्नुपर्ने, नेपाल प्याभिलियनको निर्माण, नेपाली निर्यातकर्ता एवं तहाँका व्यवसायीहरुबीच भेटवार्ताको वातावरण बनाई बी टु बी कार्यक्रम गर्नुपर्ने बताउनुभएको थियो ।
सो अवसरमा स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले नेपालको मौलिक कला, संस्कृति, सम्पदा, पहिचानबारे व्यापक प्रचार गर्न सक्दो लागि पर्ने र नेपाली हस्तकला लगायतका वस्तुहरुको बजार प्रबद्र्धनका लागि सम्भव भए सम्मको पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Categorized in बिजनेस