लमपा–६ मा हस्तकला तथा पर्यटन प्रवर्द्धन मेला भोलिवाट सुरु
SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण २४, बिहिबार

ललितपुर महानगरपालिका (लमपा) वडा नम्बर ६ मा हस्तकला तथा पर्यटन प्रवद्र्धन मेला २०८० भोलि शुक्रबारवाट सुरु हुने भएको छ ।
लमपा वडा नं ६ ब्यापी तीन दिने हस्तकला तथा पर्यटन प्रवद्र्धन मेला फाल्गुन २५ शुक्रबारदेखि २७ गते आइतबारसम्म हुन लागेको हो ।
लमपा वडा नं ६ भित्र रहेका टोल सुधार समिति, महिला समूह, क्लब र अन्य संघसंस्थाहरुको सहयोगमा वडाले यस मेलाको आयोजना गर्न लागको हो । वडा ६ को ओकुबहाल, गथिचा, रुद्रवर्ण महाविहार, तःधंलिबि, बहिननि, बहि, लुँखुसि, सिन्चाहिति, वटुक भैरव, कःनिबहाल, थैना, थपाहिति, गजिबहाल, थपात, ज्याथा, नगुबहा, महाबौद्ध, जतिबहा, न्हूबहा, नुगः (सुन्धारा), चालाछेँ र सौगलमा मेला हुनेछ ।
स्थानीय धातु मुर्तिकलाको प्रवर्द्धन र बजारीकरण नै मेलाको मुख्य उद्देश्य रहेको लमपा वडा नं ६ का अध्यक्ष रुपेन्द्र राज शाक्यले बताए ।
‘वडा नं ६ का धेरै जसो स्थानीय बासिन्दाहरुको पुख्र्यौली पेशा/व्यवसाय भनेकै धलोट तथा पाताका मुर्ति बनाउने हो । यहाँको यहि स्थानीय व्यवसायको प्रवर्द्धनका साथै व्यापारीहरु र नयाँ पुस्तालाई पनि प्रोत्साहन दिन यस मेलाको आयोजना गरेका हौं’ वडाध्यक्ष शाक्यले बताए ।
ललितपुरमा प्राय मुर्तिहरु वडा नम्बर ६ मै बन्ने गरेको र यसको उत्थानको लागि वडास्तरबाटै पहल भएमा संस्कृति पनि जोगिने र परम्परागत पेशाको पनि संरक्षण हुने शाक्यको विचार रहेको छ ।
‘राष्ट्रिय विभुति अरनिकोको जन्म यसै वडाको ओकुबहाल तिर भएको हो । यसको जानकारी सबैलाई दिन यहाँ अरनिको र मुर्तिकार सिद्धिराज शाक्यको मुर्ति पनि बनाउँदैछौँ’ शाक्य भने ।
ती दुई मुर्तिहरु अहिले माटोको रहेपनि पछि त्यसलाई धलौटले कास्टीङ गर्ने शाक्यको भनाई छ ।
मेलाको लागि ललितपुर महानगरपलिका र उद्योग, वाणिज्य तथा भुमि प्रशासन मन्त्रालयले पनि सहयोग गरेको जानकारी अध्यक्ष शाक्यले दिए ।
मेलामा विशेष गरी स्थानीय धातु मुर्तिकलाको प्रदर्शनीको साथमा साँस्कृतिक झाँकी, फुड स्टल, हस्तकला प्रदर्शनी, वडा नं ६ अन्तर स्कुल फुटसल प्रतियोगिता र लाइभ व्याण्ड प्रस्तुति जस्ता जस्ता कार्यक्रमहरु हुने बताइएको छ ।
मेलालाई सभ्य र भव्यताका साथ सम्पन्न गर्न आ–आफ्नो क्षेत्रको सरसफाई, बत्ती जडान गर्नुका साथै स्थानीय संस्कृति र आ–आफ्ना उत्पादन सामाग्रीहरु पनि प्रदर्शन गरिदिन वडाध्यक्ष शाक्यले सम्पूर्ण वडाबासीमा अनुरोध गरेका छन् ।
Categorized in स्थानीय