arin enterprises

भगवान विष्णुको पूजा गरि हरिबोधनी एकादशी मनाईँदै

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ कार्तिक १८, शुक्रबार

आज हरिबोधनी एकादशी, भगवान विष्णुको पूजा गरि मनाईँदैछ । आषाढ शुक्ल एकादशीका दिन क्षीर सागरमा सयन गरेका भगवान् विष्णु आज उठ्ने धार्मिक विश्वास रहेको छ ।

भगवान बिष्णु सुत्नुे एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने उठने एकादशीलाई हरिवोधनी एकादशी भनिने हो । आजको दिन वैष्णवहरुका लागि निकै महत्वपूर्ण दिन हो ।  आज वैष्णवहरु भगवान विष्णुको व्रत बसी पूजाअर्चना गर्ने गर्दछन् ।

हरिवोधनीमा एकादशीमा व्रत बसेर भगवान विष्णुको पूजा गर्नाले सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ । यस्तै भगवान विष्णुलाई एक पत्र तुलसी समर्पित गर्नाले बैकुण्ठ लोक प्राप्त हुने पनि धार्मिक मान्यता छ ।

व्रतालुहरूले आजको दिन विशेषगरी सख्खरखण्ड, पिँडालु कन्दमुल र फलफूल भगवान विष्णुलाई चढाई प्रसादका रूपमा ग्रहण गर्ने गर्दछन् । भविष्योत्तर पुराणमा अन्यभन्दा हरिवोधनी एकादशीमा गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ ।

हरिवोधनी एकादशीको अवसरमा नेपालका विभिन्न नारायण मन्दिरहरुको साथै काठमाडौं उपत्यकाका चार नारायणहरु र बुढानीलकण्ठमा मेला लाग्ने गर्दछ ।

आजकै दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह पनि गरिन्छ । हरिशयनी एकादशीका दिन घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको बिवाह शालिग्रामसँग गर्ने परम्परा रहेको छ ।

प्रत्येक वर्ष २४ वटा एकादशी पर्दछन् । अधिकमास पर्ने वर्षमा २६ वटा एकादशी पर्दछ । सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइने हरिवोधनी एकादशीलाई ठुलो एकादशी पनि भनिन्छ ।

Categorized in संस्कृति