हरिबाेधिनी एकादशी मनाइँदै
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० मङ्सिर ७, बिहिबार

आज कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशी ।
चार महिनादेखि सयन गरिरहेका भगवान नारायण आजको दिनमा ब्युँझिनुहुने धार्मिक विश्वास रहेको छ । त्यसैले आजको दिनलाई हरिबोधिनी एकादशी भनिएको हो ।
विष्णुपुराण अनुसार आषाढ शुक्ल एकादशीको दिनमा भगवान नारायण क्षीरसागमा सुन्तुहुन्छ, जुन दिनलाई हरिशयनी एकादशी भनिन्छ । यो दिनबाट चार महिनासम्म नारायण सुत्नुहुन्छ भने कार्तिक शुक्ल एकादशीमा ब्युँझिनुहुन्छ ।
आजको दिनमा हरिशयनी एकादशीको दिन रोपिएको तुलसीलाई पूजा गरी पिपलसँग विवाह गरिदिने परम्परा रहेको छ ।
त्यसको भोलिपल्ट द्वादशीको दिनमा तुलसीको विशेष पूजनसँगै नयाँ अन्नको हवन गरी चतुर्मास भरी पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ । आजको दिनमा वैष्णव धर्मावलम्बीहरू ब्रत बसी भगवान नारायणको पूजाअर्चना गर्ने गर्दछन् ।
आज व्रत बस्ने व्रतालुले सके चार नारायण, नसके कम्तीमा एक नारायणको भएपनि दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ ।
हरिबोधिनी एकादशीको दिन विशेष गरी सक्खरखण्ड, पिंडालु आदि कन्दमुल र फलफूल नारायणलाई चढाई ब्रतालुहरू प्रसादका रूपमा फलाहार गर्ने गर्दछन् ।
महिनामा दुई वटा गरी वर्षदिनमा जम्मा २४ वटा एकादशी पर्न आउँछ । मलमास पर्न आउने बेलामा त झन एक वर्षमा २६ वटा एकादशी पर्न आउँछ । ती सबैमध्ये हरिबोधिनी एकादशी ठुलो मानिन्छ । त्यसैले यो दिनलाई ठुलो एकादशी पनि भन्न गरिन्छ ।
यो चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ भने चतुर्मास अवधिमा कुनै पनि विवाह, ब्रतवन्ध लगायतका मङ्गल कार्य गरिन्न ।
एकादशीको दिनलाई नारायणको उपासना गर्ने दिनको रुपमा लिइन्छ भने आजको दिनमा गरिने नारायणको उपासना बढी फलदायी हुने धार्मिक विश्वास छ ।
यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा कृष्णले युधिष्ठिरलाई बताएको महाभारतमा उल्लेख गरिएको छ ।
साथै कार्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्मको अवधिमा नारायणको आराधना गर्नाले इच्छित फल पाइने विश्वास पनि गरिन्छ ।
यो दिनमा विशेष गरेर भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खु नारायण, काठमाडौंको इचंगु नारायण, फर्पिङ्गको शेष नारायणको साथमा बुढानीलकण्ठ र नेपालको प्रशिद्ध तीर्थस्थल वराहक्षेत्रमा विशेष मेला नै लाग्ने गर्दछ ।
Categorized in संस्कृति