arin enterprises

आज हरिशयनी एकादशी, चतुर्मास प्रारम्भ

SamacharDesk – विकाश | २०७७ आषाढ १७, बुधबार

आज असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी । आजको दिन सबैले घरघरमा तुलसी रोपिरहेका छन् । आजैबाट चतुर्मास प्रारम्भ हुने गर्दछ । 

आज घर घरमा रोपिएको तुलसीको विरुवालाई भगवान विष्णुको प्रतीकको रुपमा चार महिनासम्म नित्य पूजा गर्ने गरीन्छ भने आजबाट ठिक चार महिना पछि हरिवोधिनी एकादशीमा साङ्गे गरिन्छ ।

एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।

हरिशयनी एकादशीलाई तुलसीरोपण दिवस पनि भनिन्छ । यस दिनलाई ‘देवशयनी’ एकादशी पनि भनिन्छ ।

तुलसीमा बढी अक्सिजन पाइने प्रमाणित भइसकेको छ । तुलसीलाई विभिन्न रोगका लागि घरेलु औषधिका रूपमा समेत प्रयोग गर्ने गरिन्छ ।

त्यसैले घरघरमा तुलसी रोपेर राखिनु वैज्ञानिक दृष्टिकोणले पनि व्यवहारिक देखिन्छ ।

आषाढ शुक्ल एकादशी अर्थात आजकै दिनदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने विश्वास गरिन्छ । त्यसैले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो ।

साथै भगवान विष्णु यस दिनदेखि चार महिनासम्म पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कने पनि पुराणहरुमा उल्लेख गरिएको पान्छन् । 

चतुर्मासामा पर्ने आठ एकादशीमा व्रत पनि बस्ने गरिन्छ । कोही निराहार व्रत बस्ने गर्दछन् भने कोही अन्न नखाई पिठोको रोटी, फलफुल आदी मात्र खाएर पनि बस्ने गर्दछन् ।

नेवार समुदायमा भने आजको दिन दालमा पिठोको रोटी राखेर बनाइने परिकार ‘ग्वार्चा’ खाने चलन छ ।

आजको दिन नेपाल लगायत भारतका नारायणथानमा भीड जम्मा हुने गर्दछ । यहाँ विशेष गरी चार नारायण र बुढानीलकण्ठमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।

तर यस वर्षमा कोरोना महामारीका कारण विगतको तुलनामा कम भीड जम्मा भएको छ । 

Categorized in संस्कृति