arin enterprises

कंकेश्वरीमा ओपिडिसहितको स्वास्थ्य केन्द्र संचालनमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ पौष ३०, शुक्रबार

काठमाडौंको कंकेश्वरीमा ओपिडि सेवासहिको स्वास्थ्य केन्द्र संचालनमा आएको छ । साविकको स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर ओपीडी सेवासहितको केन्द्र सञ्चालनमा ल्याइएको हो ।

काठमाडौँ महानगरपालिका र फ्रान्सको मेड्सा डु मोन्डको आर्थिक साझेदारितामा स्वास्थ्य क्लिनिकको स्तरोन्नती गरिएको जनाइएको छ ।

विहिबार एक कार्यक्रमका बीच काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य र मेड्साकातर्फबाट नेपालका लागि देशीय प्रतिनिधि डा. गियोम फेबोलले संयुक्त रुपमा केन्द्रको शुभारम्भ गर्नुभयो ।

केन्द्र उद्घाटनपछि बोल्दै मेयर शाक्यले महानगरले स्वास्थ्य र शिक्षामा लगानी बढाएको बताउँदै अहिले लगानी गरेका ठाउँबाट नतिजा कस्तो आउँछ भनी आफुहरुले हेरिरहेको बताउनुभयो ।

‘स्वास्थ्य सेवा लिनेको संख्या, औषधि वितरणको मात्रा, सेवाग्राहीको आकर्षणजस्ता सूचकका आधारमा लगानीलाई निरन्तरता दिने कि नदिने क्रमशः निर्णय गर्छौँ । सेवाग्राही सेवाप्रति सन्तुष्ट भए यसलाई विस्तार गर्न लगानी बढाउँदै लैजाने हाम्रो लक्ष्य हो’ मेयर शाक्यको भनाई हो ।

त्यस क्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले, स्वास्थ्य क्षेत्रमा महानगरले गरेको लगानीबाट नागरिकहरुले सरज सेवा पाउने अपेक्षा राख्नुभयो ।

अनौपचारिक सफाईकर्मी र सहरी समुदायको स्वास्थ्यमा पहुँच बढाउन भन्दै स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवर्ध्दन केन्द्रका रुपमा स्तरोन्नति गरिएको महानगरले जनाएको छ ।

यसको लागि गएको जेठ २६ गते दुई पक्षविच सम्झौता भएको थियो । मेयर शाक्यको रोहवरमा वडा १९ का तत्कालीन वडाध्यक्ष स्व. शशीलाल श्रेष्ठ र मेड्सा डु मोन्डकातर्फबाट देशीय प्रतिनिधि डा. गियोमले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा वडा १९ का कार्यवाहक अध्यक्ष मधुसुदन प्रधान, वडा ३ का अध्यक्ष एवं स्वास्थ्य संस्था दर्ता नविकरण समितिका संयोजक दीपक के. सी., नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूत लीलादेभराद जलाइलगायतको सहभागीता थियो । 

Categorized in स्थानीय