arin enterprises

घरबाट ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

SamacharDesk – बिराज | २०७७ पौष २२, बुधबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनका लागि घर बाहिर ननिस्किन सबैलाई आग्रह गरेको छ ।

मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकाभित्र वायु प्रदुुषण निकै बढेकोले बाहिर निस्कनै परेमा मास्कको प्रयोग गर्न र कोभिड १९ का लागि तोकिएको जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न मन्त्रालयले आग्रह गरेको हो ।

आज मन्त्रालयबाट अपिल जारी गर्दै केही दिनका लागि मर्निङ वाक लगायतका गतिविधि रोक्न र फोहर जलाउने काम नगर्न भनेको छ ।

साथै धुवाँ, धुलो उड्ने खालका पेशा व्यवसाय निर्माण कार्य पनि केही दिनका लागि स्थगन गर्न मन्त्रालयले अपिल गरेको छ । यस किसिमका पेशा, व्यवसाय केही दिनपछि सुचारु गर्दा पनि धुवाँ धुलो नउड्ने वा कम उड्ने व्यवस्था गर्न मन्त्रालयबाट जारी अपिलमा भनिएको छ ।

सवारी साधन पनि अत्यावश्यक भएमात्र चलाउन आग्रह गरिएको छ ।

वातावरण विभागबाट पनि प्रेश विज्ञप्ती जारी गर्दै बालबालिका, वृद्धवृद्धाहरुको साथमा दम र श्वासप्रश्वास सम्वन्धी समस्या भएका, मुटुका विरामीहरु घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

काठमाडौं उपत्यकासाथै तराई क्षेत्रका विभिन्न शहरहरुमा पनि वायु प्रदुषणको मात्रा उच्च पाइएको विभागले जनाएको छ ।

फोहर बाल्दा र आगो बाल्दा वायु प्रदुषण झनै बढ्ने भएकोले यस्तो कार्य नगर्न विभागले आग्रह गरेको छ ।

‘वायु प्रदुषण मौसममा पनि भर पर्ने भएकोले मौसम यस्तै भइरहेमा केही समयसम्म प्रदुषण यस्तै रहन अथवा अझै खराब समेत हुने सम्भावना रहेको हुनाले विशेष सावधानी अपनाउनुहुन अनुरोध गरिन्छ’ विभागबाट जारी विज्ञप्तीमा भनिएको छ ।

Categorized in विज्ञान-प्रविधी