arin enterprises

पुरै खेल जीवन, आफु डिप्रेसनमा रहेको हेनरीको खुलासा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष २५, बुधबार

फ्रान्सेली स्टार खेलाडि थिएरी हेनरीले आफू लगातार डिप्रेसनबाट गुज्रिरहेको बताएका छन् ।

आर्सनलका पूर्व स्ट्राइकर तथा लिजेण्ड हेनरीले ‘दी डायरी अफ अ सीईओ’ नामक पोडकास्टमा कुरा गर्दै समाज, खेलजीवन डिप्रेशनमै बितेको बताएका थिए ।

पोडकास्ट डायरीमा बोल्दै हेनरीले यसको कारण आफ्ना पितासँग जोडिएको हुनसक्ने अनुमान गरे । उनका अनुसार सानो छँदा आफ्नो खेलको सबैभन्दा ठूलो आलोचक उनका बुवा नै थिए ।

‘पूरा खेल जीवन म मानसिक चिन्ताबाट गुज्रिएँ, सम्भवतः जन्मेदेखि नै । तर, मलाई यसबारे केही थाहा थिएन, त्यसैले मैले कहिले यसबारे उपचारका लागि प्रयास पनि गरिन ’ हेनरीले भने ।

उनले आफ्नो मानसिक स्वास्थ समस्याको विषयमा कोरोना महामारीको समयमा मात्र थाहा पाएको बताए ।

महामारीका बेला हेनरी मोन्ट्रियलमा थिए । उनले क्यानडाको टिम सम्हालिरहेका थिए । ठीक त्यही बेला कोराना संक्रमणले महामारीको रुप लियो ।

उनी आफ्नो परिवारवाट टाढा एक्लै मोन्ट्रियलमै रहे । हेनरीले कोरोना संक्रमणका बेला आफूले मानसिक चिन्तासँग अझ बढी संघर्ष गरेको र प्रत्येक दिन कोठामा एक्लै बसेर रोएको पनि बताए ।

‘परिवारबाट पुरै एक वर्ष टाढा रहेर म लगातार रोइरहें । म किन यसरी रोएँ, त्यो मलाई थाहा भएन । सायद मभित्र यो रुवाइ धेरै दिनदेखि लुकिरहेको थियो र त्यो बाहिर आयो,’ उनले थपे ।

आफु जन्मने बित्तिकै आफ्नो बुवाको छोरा राम्रो फुटबल खेलाडी होस् भन्ने मात्र इच्छा रहेको हेनरीको भनाइ छ ।

‘सानो छँदा राम्रो गरिन भनेर मात्र सुनें । लगातार यस्तै मात्र सुनिरहँदा यो मनभित्रै बस्दो रहेछ’, हेनरीले भने ।

४६ वर्षिय हेनरीले फ्रान्सका लागि सन् १९९८ को विश्वकप र सन् २००० को युरोकपका जितेका थिए ।

मोनाकोबाट आफ्नो खेल जीवन सुरुवात गरेका हेनरीको ख्याति भने आर्सनलबाट खेल्दा बढेको हो ।

उनले आर्सनलका लागि ३७७ खेल खेल्दै २२८ गोल गरेका छन् । उनी प्रिमियर लिगमा दुई सय भन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा छन् ।

उनले युभेन्ट्स र बार्सिलानोबाट पनि खेले ।

फ्रान्सका लागि १२३ क्याप जितेका हेनरीले खेलाडी जीवनपछि बेल्जियमको सहायक प्रशिक्षक पनि भए ।

अहिले भने उनी फ्रान्सका यू–२१ टिमका प्रशिक्षक छन् ।

Categorized in स्पाेर्ट्स