लुकाइएको नेपाली इतिहास
SamacharDesk – ज्वजलपा सकसित | २०७८ पौष २७, मंगलबार

प्रा.डा. एच.जी.बेहर (जर्मनी) द्वारा लिखित पुस्तकबाट साभार गरिएको विचारोत्तेजक सन्दर्भहरु हरेक नेवारले पढ्नै पर्छ,। कृपया एक पल्ट पढ्नुहोला ।
राजा महेन्द्रले उनको पुर्खाको गुणगान गरि लेख्न लगाइएको इतिहास हाम्राे पाठ्यक्रममा छ, तर वास्तविक इतिहास लुकाइएको छ । यो पुस्तकले धेरै त्यस्ता लुकाइएका तथ्यहरु अनुसन्धान गरि प्रकाशित गरेको छ ।
पृथ्वी नारायण शाह सम्बन्धि केहि पानाहरु यहाँ म प्रस्तुत गर्दैछु । वास्तविकता थाहा पाएपछि निश्चित रुपमा पृथ्वीनारायण शाहका अन्धभक्तहरु मर्माहत हुने छन् । त्यसैले अन्धभक्तहरुलाई यो किताब पढेर दिमाग खराब नगर्न जानकारी दिन चाहन्छु ।
सम्बत १७१६ सम्म पनि गोरखा नरेश नरभूपाल शाह माटोले पोतेको आसन (राजगद्दी) मा बस्थे । उक्त आसन उनलाई असाध्यै अप्ठेरो लाग्थ्यो ।
नेपाल (हालको काठमाडौँ, ललितपुर, भक्तपुर) का राजाहरु चाँदीको आसनमा बस्थे भन्ने उनले सुनेको थिए । उनी पनि एउटा चाँदीको आसन बनाउन पाए हुन्थ्यो भन्ने सोच्न थाले ।
शक्तिशाली रजौटासित बिहे गरी सम्बन्ध बनाउने र कमजोर रजौटालाई कज्याउने राजनीति पछ्याउँदै सम्पन्न र शक्तिशाली बन्न सीमा बिस्तार गर्ने उद्देश्य लिएर उनले धेरै पल्ट बिहे गरे तर, उनी सफल भएनन् ।
अन्तमा उनले आफ्नो नीति परिवर्तन गर्ने निश्चय गरे । सम्बत १७३२मा उनले आफ्नो छोरा पृथ्वी नारायणलाई भक्तपुरको राजासित बस्न पठाए ।
त्यो चिठ्ठी, जुन नरभूपाल शाहले भक्तपुरको राजालाई लेखेको थिए, अनुसार उसको छोरालाई यथोचित हुर्काउन र शिक्षादीक्षा दिन नेपालमा मात्रै सम्भव भएको हुनाले त्यस्तो ब्यबस्था मिलाइदिन अनुरोध गरेको थिए, तर उनको वास्तविक उद्देश्य भने उनको छोरालाई त्यहाँको दरवारमा राख्न पाए हुन्थ्यो भन्ने थियो ।
छोरा नेपाल दरवार छिर्न पायो भने त्यहाँको गोप्य र महत्वपूर्ण कुरा थाहा पाइन्छ भन्ने थियो ।
(अन्य स्राेतबाट जानकारी बटुलेर थपेको) :
हुन त राजा नरभूपाल शाहले यस्तो प्रस्ताव काठमाडौँ र पाटनको राजालाई पनि पठाएका थिए, तर पाटनको राजाले चिट्ठीको कुनै जवाफ दिएनन भने काठमाडौँका राजाले न्वाक्वःमा राखेर हुर्काउने पढाउने भए सहयोग गरौंला भनी मौखिक जवाफ दिएर पठाए ।
न्वाक्वः भनेको हाल नुवाकोट हो, जुन काठमाडौँ राज्यको एक प्रदेश थियो र त्यहाँको शासनभार काठमाडौँबाट नियुक्त मल्लले हेर्थे ।
काठमाडौँ र पाटनको राजाहरुको यस्तो ब्यबहारबाट नरभूपाल शाहले अपमानित महशुस गरे तर, अत्यन्त धार्मिक स्वभाव र उदार दिलका भक्तपुरका राजाले भने हार्दिक निमन्त्रणा दिइ शिक्षादीक्षा दिन स्वीकार गरे ।
(फेरी मूल पुस्तक बाटै) :
भक्तपुरका मल्ल राजाले अत्यन्त मित्रवत व्यवहार देखाउँदै बालक पृथ्वीनारायण शाहलाई दरवारमा पाहुनाको रुपमा स्वीकारे । उनलाई दरवारको सबै कुना कुना देखाए ।
उनका राजकुमार, राजकुमारीहरुलाई पृथ्वीनारायणसँग खेल्न छुट दिए र उनलाई कुनै किसिमको भेदभाव नगरी अत्यन्त सम्मानका साथ राखे । धर्मको काम ठानी भक्तपुरका राजाले पूर्ण सहयोग गरि उत्कृष्ट शिक्षादीक्षा दिएर राखे । यसबापत कुनै दस्तुर वा सम्झौता पनि गरेनन ।
पृथ्वीनारायण शाह स्मरण शक्तिमा तेज थिए । एकपल्ट देखेको कुरा हम्मेशी नबिर्सिने । उनले भाषा पनि छिट्टै सिके र दरवारमा प्यारो बनेर हुर्किए ।
पाँच वर्षपछि उनी आफ्नो गृह नगर गोरखा फर्किए । उनले मल्लकालीन दरवारका धेरै जानकारीहरु बटुलेका थिए । मल्ल खानदान भित्रका कलहलाई नजिकबाट नियालेका थिए । के कुरामा तिनीहरु मिल्छन्, के कुरामा झगडा गर्छन्, के कुरामा इष्र्या गर्छन्, के कुरामा रीस गर्छन्, ती सबै कुरो बुझेका थिए । त्यस्तै गरी कति सेना छन्, कति हतियार छन् र सामरीक महत्त्वका ठाउँहरु कता कता छन्, त्यो जानकारी पनि बटुलेका थिए ।
फर्केर गएपछि पृथ्वीनारायण शाह यति उत्साहित थिए कि नुवाकोट हमला गरेर सजिलै जित्न सक्छु भनी निश्चित जसो थिए । काठमाडौँका राजाको अपमानको बोझ बोकेर बसेका राजा नरभूपालको सहमतिमा तुरुन्तै नुवाकोट आक्रमण थाले तर, युवा पृथ्वीनारायणको गलत आंकलन र बुबा राजा नरभूपालको अनुमान बिपरित गोरखाले नराम्राे हारको सामना गरे । त्यो बेलादेखि गोरखाले उपत्यका आसपास क्षेत्रहरुमा हरेक बर्ष जसो आक्रमण जारी राखे ।
गोरखाली आक्रमण सधैँ जसो मनसुन सिजन पश्चात हुन्थ्यो । मनसुन सिजन पश्चात आक्रमण गर्दा लुटपाट गर्न सजिलो हुने र धेरै धन सम्पत्ति लुट्न सकिने विश्वास गोरखाले राखेको थियो । त्यसैले आक्रमण ठ्याक्क सेप्टेम्बरको अन्त्यतिर (भदौ असोज अर्थात् दशैंको मुखमा) गरेको देखिन्छ तर, यो आक्रमण कहिले पनि सफल भएको देखिन्न ।
यस्तो लुटमार गर्ने उद्देश्यले आक्रमण गर्ने र असफल भइ फर्कने क्रम सम्बत १७६४ सम्म जारी रह्यो । तत्पश्चात पृथ्वीनारायण शाहले एउटा शान्ति प्रस्ताव नेपालका मल्ल राजाहरुतर्फ पठाए ।
अन्त्यहीन जस्तो बार्षिक लडाईँ र प्रतिरोधले मल्ल राजाहरु दिक्दार थिए । त्यो भन्दा पनि यस्तो सानो सानो स्तरको लडाईँले त्यो बेला नेपालको अन्तररास्ट्रिय बन्द ब्यापार (तिब्बत भारत तिरको ब्यापार) लाई नोक्सान भइरहेको थियो । मल्ल राजाहरु त्यसैले शान्तिको प्रस्तावसित वास्तवमा खुशी भएका थिए । तर पृथ्वीनारायणको प्रस्ताव वास्तवमा एउटा चलाखी मात्र थियो । उनले वास्तविक शान्ति चाहेका थिएनन् ।
जब गोर्खाले उत्तरतिर रहेको व्यापार मार्गमा नाकाबन्दी लगाउन थाले, मल्ल राजाहरुले गोरखाको मनशाय बुझ्न थाले । साथसाथै त्यो समय गोरखाली सेनाले युद्धमा अत्यधिक हतियार प्रयोग गरेको र ती हतियार उच्च कोटीको रहेको समेत थाहा पाए । मल्ल राजाहरु एउटा निर्धन गोरखा राज्यसित त्यस्तो हतियार कहाँबाट आयो भनेर चकित परेका थिए ।
लडाईँ अत्यन्तै महँगो हुन्छ भनेर बुझेका मल्ल राजाहरु गोरखाले वर्षेनी लडाईँ लड्न पैसाको जोहो कताबाट गर्छन, गोरखाबाट टाढा टाढा पुगेर लड्ने सेनाको रासन पानी, उपचार खर्च, तलबमान, लुगाफाटो, हतियार गोलीगट्ठा आदि कताबाट आपूर्ति हुँदै थियो भन्ने सोचेर चकित परेका थिए ।
गोर्खाली सेनालाई प्रशस्त आर्थिक र उच्चस्तरीय हतियार उपलब्ध गराउने स्रोत तत्कालीन बेलायती सरकार थियो, तर यो कुरो नेपालको मुलधारको इतिहासबाट लुकाइएको छ । यो सम्बन्धि गरिएको एक गोप्य सम्झौताको दस्तावेज हालसम्म पानी लण्डनमा सुरक्षित छ । इस्ट इन्डिया कम्पनि सम्बन्धि आर्काइभमा त्यो छ ।
मैले उल्लेख गरेको त्यो गोप्य सम्झौतामा गोर्खाली प्रतिनिधि र क्याप्टेन सिअने (Captain Ceane) को दस्तखत छ । जुन दस्तावेज अनुसार बेलायती सरकारले सैन्य सहायता तथा रणनैतिक सरसल्लाह उपलब्ध गराउने र त्यसको बदलामा गोरखाले नेपालको ब्यापारिक मार्ग ध्वस्त गर्नुपर्ने सम्झौता भएको थियो । यो त्यहि ब्यापारिक मार्ग हो, जहाँबाट हालको भारत र चीनबीच नेपाल भइ ब्यापार चलेको थियो ।
भारतको मुगल ब्यापारीहरु नेपालको मल्ल राजासँग मिलेर ब्यापार बढाउँदै थिए । बेलायतको अनुमानमा झन्डै ३०% मुगल सम्पत्तिको मुख्य श्रोत नै उत्तरसित रहेको यो व्यापार थियो । त्यसैले बेलायतीहरु यो श्रोत हात लगाई भारतीय उपनिवेशबाट हुने आम्दानि बढाउन चाहन्थे ।
लण्डनमा रहेको दस्ताबेजमा उल्लेख भए अनुसार पृथ्वीनारायण शाहका सेनाले ८ सय वटा काँधमा राखेर प्रहार गर्नुपर्ने लामो नाल भएको शक्तिशाली बन्दुक र २१ जना बेलायती सैन्य सल्लाहकार प्राप्त गरे ।
सम्बत १७६६ मा बेलायतको हतियार, सैन्य सूचना र सल्लाहसमेतको सहयोगमा गोरखाले कीर्तिपुर कठिन युद्ध गरि जिते । कीर्तिपुरले अदम्य शाहस देखाउँदा देखाउँदै पनि उच्चस्तरीय हतियार सामु टिक्न सकेनन् । त्यो लडाईँमा कीर्तिपुरका दुई तिहाई जनसंख्या मारिएका थिए ।
हिंस्रक गोर्खाली सेनाले विजय उन्मादमा बाँचेका कीर्तिपुरे जनताको नाक काटे । आजसम्म पनि त्यो ठाउँ ‘नाक नभएको मान्छेको गाउँ’ भनेर परिचित छ । यो घटना घटिसकेपछी बल्ल मल्ल राजाहरुले परिस्थिति निकै गम्भीर बनिसकेको चाल पाए ।
जयप्रकाश मल्ल, काठमाडौँका राजा, एक विद्वान शासक थिए । उनले इस्ट इन्डिया कम्पनीलाई गोरखाको आक्रमणबिरुद्ध सहयोगको याचना गर्दै एक मार्मिक चिट्ठी लेखे ।
इस्ट इन्डिया कम्पनीले पनि तत्कालै १५ जवान प्रभावशाली सैन्य टुकडी क्याप्टेन किनलोक (Kinloch)को नेतृत्त्वमा नेपालका मल्ल राजालाई सहयोग गर्न पठाए । यी क्याप्टेन असाध्यै मदिराप्रेमी थिए । क्याप्टेन किनलोक नेतृत्त्वको बेलायती सेना जब काठमाडौँ उपत्यका नजिकको पहाडी इलाका पुगे, तीनले गोर्खालीसित लडाईँ लडेको नाटक गरे र उक्त लडाईँमा बेलायती सेना हारेको भनी गलत प्रचार गरे ।
गोर्खाली आक्रमणमा परि क्याप्टेन आफैँ घाइते बनेको प्रचार गरे । यो घटना ‘म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर’ भन्ने नेपाली उखानसित मिल्दोजुल्दो छ । यस्तो फर्जी घटना घटाएर गोरखा अत्यन्त शक्तिशाली छ, हामी केहि गर्न सक्तैनौं भनी बेलायतीले मल्ल राजाहरुको मनोबल गिराउन चाहन्थे ।
बेलायती सहयोगको आश मरेपछि जयप्रकाश मल्ल धार्मिक आस्थातिर ढल्किन थाले । एक ज्योतिषले उनलाई नेपालको भविष्य कुमारी मातामा निर्भर हुने योग छ भनी बताइदिए । राज्य बचाउने आशमा सम्बत १७६८ मा उनले कुमारी माताको भब्य पुजा गर्दै इन्द्रजात्रा धुमधाम मनाए ।
त्यो बर्ष सेप्टेम्बर १३ का दिन रथ यात्रा पनि थियो र त्यो दिन सम्पूर्ण नेपालका जनता चामलको मदिरा (जाँड) खाएर रमझममा मस्त रहेका थिए । जात्रामा मस्त राजा र जनताले गोरखा सेनाले चारैतिरबाट शहर घेरेको चालै पाएनन् । जब गोर्खाली सेनाले जात्राको रथ घेरे अनि बल्ल हाहाकार मच्चियो, दिग्भ्रमित जनता, राजा र सेनाले के गर्ने कसो गर्ने ठम्याउन सकेन ।
रथमा सवार जयप्रकाश रथबाटै हाम फाले । उनका दुइ श्रीमती पनि उनकै पछी पछी लागे र पाटनतिर सकुशल भागे । अशान्त भीडका बीचबाट पृथ्वी नारायण शाह अगाडी बढे र चिच्चाए — ‘म तिमीहरुको राजा हुँ, जात्रा जारी राख्नु’ ।
मारिने डरले आक्रान्त नेवार जनसमुदायले त्यस आदेश पछाडी झन् धेरै मदिरा पिए । हातहातमा नाङ्गो तरवार बोकेका गोर्खाली सेना सामुन्ने थिए । कतिपय सेनाले बलिया देखिने जवानका गर्धनमा तरवार तेर्साए । निहत्था र मदिरामा लट्ठ नेवार सेना र जनता सामु आदेश पालना गर्नु सिवाय कुनै बिकल्प थिएन ।
त्यहि सालको जाडो याममा गोर्खाले ललितपुर पनि कब्जा गरे । ललितपुर कब्जा गर्न पनि खासै बल प्रयोग गर्नु परेन । त्यहाँबाट लखेटिएका मल्लहरु अब भक्तपुरमा जम्मा भए । भक्तपुरले दरवार र देश प्रतिरक्षा गर्न बलियो प्रबन्ध गरिसकेको थियो । तत्पश्चात बेलायती सल्लाहकारको योजना मुताबिक भक्तपुरलाई नाकाबन्दी गरियो ।
तीन बर्षको नाकाबन्दी पछी भक्तपुरको खाद्य भण्डार रित्तिन थाल्यो । अभावसँगै दरवार भित्र बेचैनी पनि बढ्दै थियो । त्यहि बीच एक रात एक मल्लका ल्याइते सन्तानले शहर पस्ने ढोकाको चुकुल खोलिदिए । गोर्खाली सेनाको टुकडी सिधै मल्ल राजाहरुका शयन कक्षसम्म पुग्न सके ।
जय प्रकाश मल्लले आत्महत्या गरे । उनीप्रति उदारता देखाउँदै पृथ्वीनारायणले उनको शवलाई पशुपतिमा दाह सँस्कार गर्ने व्यवस्था मिलाई दिए ।
भक्तपुरको राजा रणजित मल्ल, जसले पृथ्वीनारायण शाहलाई पाले, पोसे, हुर्काए । उनले आफु असाध्यै अपमानित भएको महशुस गरे । उनी मारिएनन तर, उनको आँखा फोडियो र हिन्दु पवित्र शहर बनारस तिर निर्वासनमा पठाइयो ।
ललितपुरका राजा तेजनरसिंह मल्ल पृथ्वी नारायण शाहसँग कुनै शब्द बोल्न चाहँदैन थिए र मौन मात्रै बसी रहे । तेज नरसिंहलाइ एउटा शव राख्ने जस्तो इटाको च्याम्बरमा थुनियो । त्यहाँ सानो प्वाल थियो, जहाँबाट दिनको एक कटौरा भात छिराइन्थ्यो । केहि दिनपछि त्यो कटौराको भात जस्ताको तस्तै देखियो, अनि त्यो प्वालमा ईँटाले छोपी टालियो ।
पृथ्वी नारायण शाहले जे जति गरे, त्यो सबै क्याप्टेन सिअनेको सरसल्लाहमा गरे । उनले पृथ्वी नारायणलाई भनेका थिए, ‘नेपालका जनता ज्यादै मेहनती र बुद्धिमान छन् । त्यसैले तिनीहरु एकदम खतरनाक छन् । तिमीले उनीहरुमाथि शासन गर्ने हो भने उनीहरुको मुटुमा गढ्ने गरी आतंक फैलाउन सक्नुपर्छ । उनीहरुलाई अबको कयौं शताब्दिसम्म पनि शासन सत्तामा आउन दिनु हुँदैन । शासन सत्तामा कब्जा जमाउने विचार श्रृजना गर्ने कुनै पनि कुराहरु उनीहरुको दिमागबाट मेटाउनु पर्छ । यस्तो गर्न कडा नियम र तरवार (हत्या हिँसा) को साथ लिनै पर्छ ।’
तत्पश्चात, स्थानीय नेवारहरुलाई पढ्न लेख्नबाट बन्चित गराइयो । नयाँ निर्माण कार्य गर्न रोक लगाइयो । भत्केको घर मन्दिर पुनर्निर्माण गर्न पनि रोक लगाइयो । व्यापार ब्यबसायमा नियन्त्रण गरीयो ।
सम्बत १७६७ को कर श्रेस्ता फेला परेको छ, जसमा उल्लेख भए अनुसार उपत्यकामा त्यो बेला तरकारी र फलफुल मात्रै पनि १७६ थरीको उत्पादन हुने गर्दथ्यो, जुन आज पर्यन्त काठमाडौँमा अस्तित्वमा छैन ।
स्थानीय नेवारहरुलाई सानो भन्दा सानो नियम उल्लङ्घन गरेको देखिए पनि फाँसी दिन थालियो । सम्बत १७७० मा मात्रै पनि २५ सय नेवारहरु सजाँयको नाममा मारिए । यस्तो व्यापक दमनको नतिजा स्वरूप दोश्रो पुस्ताको नेवारहरु एकदम काँतर र पलायनबादी बन्न थाले । दमन र अत्याचारबिरुद्ध बोल्नासाथ मारिने स्थिति बन्यो ।
तेश्रो पुस्ताका नेवारसम्म आइपुग्दा ती अत्याचारबारे जानकारी भएका मान्छे नै बाँकि रहेनन् र ती कुराहरु बिर्सन थाले । पृथ्वीनारायण शाहको शासन पश्चात ती शहरहरुमा विकास ठप्प भयो । श्रृजनशील दिमागहरु निमिट्यान्न पारेपछि ती शहरको जीवन्तता गुम्न थाल्यो ।
तत्पश्चात बेला बेलामा भूकम्प आएर ठुल्ठुला पुनर्निर्माणको खाँचो पर्यो, पुनर्निर्माणको निमित्त राज्यले मनग्य पैसा खर्च गरेतापनि ती शहरहरुको जीवन्तता फेरी कहिल्यै फर्किएन ।
बेलायतीहरुको हिंस्रक योजना मुताबिक चलेको गोर्खाली सैन्य योजनाको फलस्वरूप बेलायतले ठूलो आर्थिक फाइदा स्वभाबिक रुपले हासिल गरे । सम्बत १७७८ मा मुगल साम्राज्य टाट पल्टियो र तिनले बेलायती अधिनस्थता सजिलै स्वीकारे । यसको असर समग्र मध्य एशियामा पर्यो ।
पृथ्वीनारायणलाई हतियार बनाइ त्यस क्षेत्रको पुरानो र चालु आर्थिक मार्ग बन्द गरेपछि बेलायतले आर्थिक साम्राज्य निर्धक्क चलायो । यो घटनाबाट तिब्बतको अर्थतन्त्र पनि नराम्ररी प्रभावित भयो । फलस्वरूप संकुचित तिब्बती अर्थतन्त्रले स्वाभिमानको निमित्त गुम्बाहरुमा भर पर्नु पर्यो, जसको फलस्वरूप त्यस क्षेत्रमा बुद्धका शालीन अनुहारको छत्रछायाँमा सामन्ती व्यवस्था फस्टाउन पुग्यो ।
यस्तो नकारात्मक असर तिब्बत मात्र हैन उत्तरी चीनसम्म पनि बिस्तृत भएको थियो । पछिल्लो समयमा बेलायतीहरु गोरखासँग खुशी रहेनन् । गोरखाले रगतको स्वाद चाखीसकेको थियो र जितको उन्माद तीब्र थियो । उनीहरु हत्या हिँसाबाट मुक्त भएर बस्न सक्तैन थिए । त्यसैले उनीहरु वरपरका पहाडी इलाकामा लडाईँ छेड्दै हिँड्न थाले ।
त्यस्तै आफुले जितेका क्षेत्रलाइ ‘निषेधित इलाका’मा परिणत गर्दै गए । उनीहरुको पहाडी आधार क्षेत्रतिर चुपचाप बसुन्जेल बेलायतले वास्ता पनि गरेन तर, सम्बत १७८९ मा उनीहरु युद्ध उन्मादी भएर चीन तथा बेलायतले अधिकार क्षेत्र ठानेको ठाउँहरुमा समेत हमला गर्न थाले ।
बेलायतका जनरल अक्टरलोनीले लेखेका छन्, ‘हामीले गोर्खाली सेनालाई कतै न कतै अल्झाउनु पर्छ ताकि उनीहरुको दिमाग राज्य बिस्तारबाट अन्त मोडियोस ।’
लर्ड हेस्तिन्गले सम्बत १८१७ मा उनको डायरीमा लेखेका छन् — ‘नेपालमा शान्ति ल्याउन नेपालको गोर्खाली सेनालाई व्यस्त राख्नु पर्छ र त्यो पनि तिनको देशभन्दा धेरै टाढा ।’
यो नीति अनुरुप गोरखा भर्ति केन्द्र खोलेर गोर्खालीलाई बेलायति सेनामा हुल्न थालियो । गोर्खाली सेनालाई दिने गरेको तलबको १/३ (एक तिहाई) रकम नेपालको शासक (सरकार) लाई दिने गरियो, जुन नेपालको महत्वपुर्ण आम्दानी स्रोत बन्न गयो । गोर्खाली जवानहरु देश छोड्दै बिदेशमा लड्न जान थालेपछि नेपालभित्र तुलनात्मक रुपमा शान्ति देखिन थालियो, तर दरबार भित्र भने शान्ति आएन ।
शाहहरु एक आपसमा भिड्न थाले । उनीहरुले देश र जनताको बारेमा खासै चासो लिँदैन थिए । तिनीहरु आफ्नो सानो सानो स्वार्थमा नै अल्मलिएका थिए । यस्तै घटनाक्रमसँगै कोटपर्व भयो । यस पछाडी जंगबहादुर राणा शक्तिशाली बनी निस्किए र उनले शाह राजासित शक्ति खोसेर शासन चलाए ।
यस पछाडि के भयो आफैँ किताब खोजेर पढ्नु होला ।
Nepal: Geschenk der Gotter (Nepal Gifts of the Gods) by Hans-Georg Behr
यो किताब जर्मन भाषामा छ । यसको प्रकाशन सन १९७६ मा नै भएको हो, तर यो किताब तत्कालीन नेपालमा प्रतिबन्धित थियो ।
भाषा नजानेको तथा अन्तर्राष्ट्रीय गैर अँग्रेजी भाषाको प्रकाशनहरुमा पहुँच नभएको हुँदा यो किताबबारे सन २००६ सम्म पनि नेपालमा कसैलाई पनि जानकारी थिएन । सन २००६ ताका जर्मनी पुगेका नेपालीहरुका जर्मन साथीहरुमार्फत ‘नेपालबारे थाहा पाएका एक जना बुढो मानिस छन, उनले किताब पनि लेखेका छन् रे’ भन्ने सुनेपछि बिस्तारै उहाँसित सम्पर्क भएको रहेछ र त्यसपछि यो जानकारी सार्वजनिक भएको रहेछ ।
लेखक डा. हान्सजोर्ग बेहरले यो किताब लेख्नु अघि करीब ७ बर्ष नेपालतिर बसी गहन अनुसन्धान गर्नु भएको रहेछ । तत्कालीन पञ्चायती शासकहरुको मत, इच्छा र पूर्वाग्रहबाट उहाँको अनुसन्धान प्रभावित नहोस् भनी उहाँ गाँजा पारखीको भेषमा हिप्पी बनेर नेपाल भित्रको अनुसन्धान गर्नुभएको रहेछ ।
स्वयम्भुको चुचुरोबाट काठमाडौँ उपत्यकालाई हेर्दै ‘यहाँको शासकहरुले यो सुन्दर ठाउँलाइ एकदिन नर्क जस्तो कहाली लाग्दो बनाउने छ, सबै हरियाली मासेर पैसा छाप्ने मेशीन बनाउने होडमा बस्न अयोग्य नर्क बनाउने छ’ भनेर सन १९७० तिरै भविष्यवाणी गर्नुभएको रहेछ ।
नेपाललाई औधी माया गर्ने उहाँले सन १९९० मा ह्याम्बर्ग शहरमा गणेशको ६ फिट अग्लो मुर्ति पनि स्थापना गराउनुभएको रहेछ । मेडिसिन, क्लिनिकल साइक्लोजी, भाषाशास्त्र, इतिहास, औपनिवेशिक अर्थशास्त्र आदिका विज्ञ उहाँ भियना विश्वविद्यालयमा इतिहासका प्राध्यापक पनि रहनुभयो ।
न्यूरो टक्सिकोलोजीको विज्ञ उहाँले गाँजा सँस्कृति, र औषधि ब्यापारको राजनीतिबारे पनि प्रसस्त लेख्नुभएको छ र गाँजा प्रतिवन्धबिरुद्ध निरन्तर कलम चलाउनु भएको छ, जसको निमित्त उहाँलाइ सन २००९ मा पुरस्कृतसमेत गरिएको थियो ।
५७ वर्ष निरन्तर गाँजा–सेवन गरेको खुल्ला दाबी गर्ने उहाँ ०.३ ग्राम गाँजा साथमा राखेको आरोपमा थुना र अदालती कारवाहीमा पनि पर्नुभयो । ग्रीन पार्टीबाट चुनाव लडेर जर्मनीमा उहाँ सांसद पनि बन्नुभयो । उहाँको निधन सन २०१० मा भयो ।
Categorized in विचार