arin enterprises

दशैंमा स्मार्ट फोन टाढा राखौं, परिवारको नजिक बसौं

SamacharDesk – बिराज | २०७९ आश्विन १०, सोमबार

विगतका दिनमा आजको दिनबाट आकाशमा रङ्गिचङ्गि चङ्गाहरु उडिरहेको देखिने गथ्र्यो । चैट, चैटको आवाज सुनि नै रहन्थ्यो ।

विहान अँध्यारोमै नवरात्री जानेहरुको समूह समूह देखा परिसक्थ्यो । झिसमिसेबाटै शक्ति पीठहरुमा दर्शन गर्न आउनेहरुको लामै लाइन लागिसक्थ्यो । चौरहरुमा वा खुल्ला स्थानमा च च हुइँइँको आवाजले पिङ्ग मच्चिन्थ्यो ।

अहिले आकाश पनि सुनसान छ र शक्ति पीठहरुमा पनि विगतमा झैं घुइँचो देखिँदैन ।

पूजाहरु औपचारिकता वा करकापमा सिमित देखिन थालिसक्यो भने परिवार भेला भएर भोज खाने, रमाइलो गर्ने चाडहरुमा पनि प्राय सबै  कोठा कोठामा बस्दै स्मार्ट फोनमा रमाउ थाले । स्मार्ट फोन नै शक्ति पीठ, स्मार्ट फोन नै पिङ ।

विदेशमा रहेका परिवारका सदस्य पनि घरमा आउने चाडमा घरमै भएका सदस्यहरु पनि भिडियो च्याटमार्फत कुरा गरिरहेका हुन्छन् ।

आज असोज शुक्ल प्रतिपदा अर्थात सम्पूर्ण नेपाली तथा हिन्दुहरुको महान चाड बडादशैंको पहिलो दिन, घटस्थापना ।

हो, साँच्चिकैमा कथित प्रविधिको विकासले समाजलाई झन टाढा बनाएको छ, चाडपर्वलाई निरश नै बनाएको छ । आज प्रत्येकको घरघरमा आगम कोठा अथवा दशैंघर विधिवत रुपमा गणेश र दुर्गा भवानीको साथमा कलश स्थापना गरी जमरा रोपिएको छ ।

घटस्थापनाको लागि आज विहानको १०ः२३ बजेको साइत उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको थियो । तर, जमरा रोप्न कुनै साइत कुर्नु नपर्ने पनि विज्ञहरुले बताएका छन् ।

आजको दिनमा विहान सबैरे उठी नुहाई धुवाई गर्नुका साथै शुद्ध भई दशैंघर वा आगम कोठामा पनि सरसफाइ गर्नुका साथै लिपपोट गरीन्छ । त्यसपछि नजिकको तीर्थ वा नदिबाट बालुवा ल्याइ सोही बालुवामा जौ छरेर जमरा रोपिन्छ ।

दुर्गा भवानीको प्रिय वस्तु मानिने भएकोले दुर्गा पक्ष भनिने दशैंमा जमरा रोप्ने गरिएको धार्मिक विश्वास छ ।

आजबाट दशमीसम्म प्रत्येक दिन शक्तिकी अधिष्ठात्री दुर्गा भवानीको पूजा आराधना गर्ने गरिन्छ । प्रत्येक दिन दुर्गा भवानीको अलग अलग रुपको पूजा गर्ने गरिन्छ ।

वैदिक विधिबाट पूजा गर्नेहरुले पहिलो दिनबाट क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गर्दै शक्तिको आह्वान गरिन्छ ।

त्यसैगरी कौलिक विधिबाट पूजा गर्नेहरुले भने पहिलो दिनमा ब्रह्मायणी, दोश्रो दिनमा माहेश्वरी, तेश्रो दिनमा कौमारी, चौथो दिनमा भद्रकाली र पाँचौ दिनमा बाराहीको पूजा गर्ने गर्छन् ।

त्यस्तै छैठौं दिनमा इन्द्रायणी, सातौं दिनमा चामुण्डा, अष्टमीको दिनमा महालक्ष्मी र नवौं दिनमा तलेजु भवानीको पूजा आराधना गरे शक्तिको आह्वान गर्ने गरिन्छ ।

दुर्गाले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायतका राक्षसको वध गर्न नौ दिनसम्म लिएका नौवटा विभिन्न रुपको बडादशैंमा पूजा गरिने हो ।

आजैबाट विहान झिसमिसेमै नवरात्री पनि जाने गरिन्छ । विहानै नुहाई धुवाई गरेर शुद्ध भई, शक्तिपीठहरुमा पूजा जाने गरिन्छ । सो क्रममा बलि दिनेहरुले बलि पनि दिने गर्छन् भने बलि नदिनेहरुले नरिवल वा अण्डा चढाएर शक्तिको आराधना गर्ने गर्छन् ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

दशमीको दिनमा जमरा निकालेपछि ठुलाबडाको हातबाट जमरासहित टिका लगाएर आशिर्वाद लिने गरिन्छ । त्यसपछि पूर्णिमासम्म आफन्त, नातागोताकोमा गएर फुल प्रसाद लिने गरिन्छ ।

नातागोता, आफन्त भेटघाट गर्ने, माया साटासाट गर्ने पर्व दशैं हो । ठुलाबडालाई आदर, सानालाई माया गर्न सिकाउने चाड हो दशैं । धार्मिक आस्था आआफ्नो ठाउँमा होला तर, दर्शन एउटै हो, सद्भाव, माया र प्रेम ।

पर्वको यहि महिमालाई बुझेर हर्षोल्लासका साथ दशैं मनाऔं । स्मार्ट फोनलाई केही दिन टाढा राखौं, परिवारको नजिक बसौं । बडादशैंको सम्पूर्ण नेपाली, सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुमा शुभकामना ।

Categorized in संस्कृति