arin enterprises

हर्ष र विजयोत्सवको प्रतीक होली पर्व

SamacharDesk – राम डंगोल | २०७९ फाल्गुण २२, सोमबार

रंगैरंगको पर्व, होली । हामी हरेक साल रंगहरुसँग खेल्दै होली मनाउँदै आएका छौं ।

परम्परागत रुपमा काठमाडौंको हनुमान ढोकामा चीर ठड्याइएपछि फागुको औपचारिक सुरुवात हुने गर्दछ । गत फागुन १५ गते हनुमानढोकामा चीर ठड्याइएपछि यस वर्षको होलीको देशव्यापी रुपमा शुभारम्भ भइसकेको छ ।

फागु अथवा होली फाल्गुण शुक्ल अष्टमीदेखि सुरु भइ ०७९ फागुन २३ गतेसम्म हर्षाेल्लासपूर्वक मनाएर वसन्तपुरमा ठड्याएको चीर ढालिएपछि फागु सम्पन्न हुने गर्दछ ।

आपसमा मैत्रीभाव राख्दै सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अभीर लगाएर शुभकामना आदानप्रदान गरिन्छ । तराई भेगमा भने पहाडमा होली मनाइएको भोलिपल्ट फागु मनाइन्छ ।

होलि नैतीक शिक्षा दिने पर्वको रुपमा पनि लिन सकिन्छ । अधिकार अथवा शक्तिको दुरुपयोग गर्नेलाई होलिकाको अवस्था हुने बिम्ब पस्कँदै समापनतिर जाने यो पर्व सत्ययुगदेखि नै आरम्भ भएको हो ।

होली पर्वको सुरुवातको सन्दर्भमा एउटा धार्मिक विश्वास भनौं वा किम्वदन्ति समाजमा प्रचलित छ । धेरैले यो किम्वदन्ति सुन्दै आएका पनि होलान् । तर जसले सुनेका छैनन्, उहाँहरुको लागि फेरी एक पटक त्यो कथा यहाँ प्रस्तुत गरि नै हालौं होला है ।

सत्ययुगमा भगवान नारायणलाई आफ्नो परम शत्रु ठान्ने असुरराज हिरण्यकश्यपुका छोरा प्रह्लाद नै नारायणका भक्त भएर निस्किए । नारायणको आराधना नगर्न जति सम्झाउँदा, तर्साउँदा, गाली गर्दा पनि केही नलागेपछि अन्तमा आफ्ना छोराको हत्या नै गर्ने सोचसम्म हिरण्यकश्यपु पुगे ।

तर जति जे गर्दा पनि प्रह्लादलाई मार्न नसकेपछि ब्रह्माबाट आगोले नछुने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई मार्ने जिम्मा दिए । होलिका प्रह्लादलाई काखमा राखेर आगोमा बसिन् ।

विष्णुका नाम जपिरहेका प्रह्लादलाई भने आगोले छोएन तर, आफ्नो शक्तिको दुरुपयोग गरेकी होलिका भने जलेर भष्म भइन् । होलिका जलेर भष्म भएको खुसियालीमै नगरबासीले एक आपसमा रंग लगाउँदै उत्सव मनाए । यहि उत्सव कालान्तरमा होलि पर्वको रुपमा चल्दै आयो ।

धर्म, संस्कृतिको अक्षुणतालाई कायम राख्ने नेपालीका घर आँगनमा वसन्तको महोत्सव, होली पर्व, हर्ष र विजयोत्सवका रुपमा सदा झैँ यस वर्ष पनि आएको छ । हाम्रो समाजलाई यो पर्वले निश्चय नै सद्भाव र भाइचारा अनि राष्ट्रिय एकताको सन्देश दिन्छ नै ।

चीरलाई दहन गरिने भएकाले चीरदाहको नामले फागु पूर्णिमाका दिन खुशीयालीका रुपमा पनि मान्ने चलन छ । चीरको खरानी दल्ने, त्यसको टीका लगाउने, घर सजाउने, शरीरमा रंगी विरंगी चित्र वनाई एक आपसमा फागु खेल्ने चलन पनि रहेको छ ।

शत्रुता र वैरभावलाई बिर्सेर आपसी भाइचाराको रुपमा, मित्रताको गाँठो बलियो पार्ने चाडको रुपमा पनि फागुलाई मनाइने गरिन्छ ।

नेपालमा यस पर्वको थालनी मल्लकालमा भएको हुनसक्ने अनुमान गर्न सकिन्छ । यहाँको परम्परागत चीर ठड्याउने चलन मोहनकाली चोकको हो । जुन आज पर्यन्त चलिआएको छ ।

मोहनकाली चोकको चीर ठड्याउने चलन मल्लकालीन हो । तर वसन्तपुर गद्दी वैठकको दक्षिणतर्फ ठड्याइने चीरको चर्चा बढि भइरहँदा मोहनकाली चोकको चीर भने ओझेलमा परेको छ । गद्दी वैठकको चीरको चलन भने पृथ्वीनारायण शाहकालीन हो ।

होली अर्थात् फागु विभिन्न क्षेत्र तथा थातथलोमा बस्नेहरु आ–आफ्नै परम्परा अनुसार मनाउँदै आएको पाइन्छ । तराईमा फागुको रौनक पूर्णिमाको भोलिपल्ट हुन्छ । मिथिला (जनकपुर) मा धुमधामसाथ मनाइने यो पर्वले तराईका प्रत्येक कुनासम्म आफ्नो पहुँच बढाएको छ ।

तराईका ग्रामीण परिवेशमा रहेका फोहोर, घाँस पतझरलाई जलाएर पुराना दर्द बिर्सने, चीरदाह, उत्सवका रुपमा मनाइन्छ ।

तर काठमाडौं उपत्यकाकै भक्तपुरमा भने भिन्नै प्रकारले होली मनाउने गरिन्छ ।

दत्तात्रय मन्दिरसँगै रहेको भीमसेन मन्दिरको होली अन्यत्रको भन्दा फरक खालको हुने गर्दछ । भक्तपुरमा हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागु पर्व सुरू हुने गर्दछ ।

यसदिन भिमसेनको लिङ्गलाई भिसमेन मन्दिरबाट ल्याई विहान दुई जनाले काँधमा बोकेर भक्तपुर नगर परिक्रम गराइन्छ । सो क्रममा भीमसेनको लिङ्गलाई इनाचो, बाचुटोल, जेला, जगाती, ब्रम्हायणी लगेर पखालिन्छ ।

फेरी च्यामासिंह हुँदै तछपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवम् पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्ड्याइन्छ । त्यसको अगाडी रातो कपडा पनि राखिन्छ ।

काठको लिंगलाई भीमसेनको जनेन्द्रीय र रातो कपडालाई द्रौपदीको जनेन्द्रीयको रूपमा लिने गरिन्छ । मन्दिरभित्र झुन्ड्याइएका यी जनेन्द्रीयलाई जुधाएपछि होली सुरु भएको मानिन्छ ।

मानिसहरुले लिङ्गलाई ठेल्दै अगाडी रहेको कपडाको प्वालमा छिराउने गरिन्छ । यसलाई भीमसेन र द्रोपदीबीचमा सम्भोगको रुपमा लिने गरिन्छ । भीमसेनको लिङ्ग बोक्नाले अथवा त्यसरी भीमसेन र द्रोपदीबीच मा सम्भोग गराउनाले निःसन्तानहरुलाई सन्तान प्राप्ति हुन्छ भन्ने जनविश्वास रहिआएको छ । भिसमेनको लिंगलाई स्थानीय भाषामा “लग” भनिन्छ ।

स्थानीयवासीहरु ‘भीमसेनको जनेन्द्रीय देखेर लोभ लाग्यो कि’ भनेर यौन र प्रेमरसको गीतसमेत गाउँछन् । यहि गीतसँग जोडिएर यहाँ आफ्नी मनपर्ने युवतीलाई युवाहरुले प्रेम प्रस्ताव राख्ने रमाइलो परम्परा पनि रहेको छ ।

भक्तपुरमा फागु पूर्णिमाको दिन युवाहरू आफ्नी मनपर्ने केटीको घरको आँगनमा गइ गीत गाएर प्रेम प्रस्ताव राख्ने गर्छन् र केटीले केटाको गालामा अभीर लगाइदिएमा केटाको प्रेम प्रस्ताव स्वीकार गरेको भनेर बुझिन्छ ।

टाढैबाट अभीर छर्केर फर्केमा प्रेम प्रस्ताव अस्वीकार गरेको भनेर बुझ्नुपर्ने हुन्छ । युवा–युवतीमात्र होइन, अर्धवैंशेहरुसमेत यस दिन रमाइलो गर्ने र ‘रोमान्टिक’ परम्परागत गीतसमेत गाउँछन् । फागु पूर्णिमाको रात काठको लिंगलाई ब्रह्मायणी नदीमा लगेर पखालेपछि भक्तपुरमा होली विधिवत् समापन हुने गर्दछ ।

हाम्रा हरेक क्रियाकलाप अचेतन मनमा रहेको यौन मनोविज्ञानसँग जोडिएको हुन्छ भनेर महान् मनोवैज्ञानिक सिग्मन्ड फ्रायडले भनेका छन् । फागु पूर्णिमा पनि यौन, प्रेम र सद्भावसँग जोडिएको छ । त्यसैले अनुशासित भएर यो पर्व मनाउँदा परम्पराको पनि जर्गेना हुने, सामाजिक सद्भाव पनि बलियो हुने गर्दछ ।

जेहोस्, सत्ययुगदेखि नै आरम्भ गरिएको फागु उत्सवले प्राप्त अधिकारको दुरुपयोग गर्नेलाई होलिकाकै हालत हुन्छ भन्ने संकेतसमेत दिन्छ । यसरी मन, मस्तिष्क र समग्र समाजको प्रदूषण हटाई नवीन चेतना, उत्साह र नयाँ कार्यशैली प्रति प्रेरणा दिने पर्वको रुपमा फागु पर्वलाई लिन सक्ने कुरामा कसैको दुईमत नहोला । होलीको शुभकामना सबैलाई ।

Categorized in विचार