arin enterprises

टोखामा घरेलु उत्पादनको प्रदर्शनी हुने

SamacharDesk – बिराज | २०७७ माघ ३, शनिबार

काठमाडौंको उत्तरी भागमा पर्ने ऐतिहासिक नगरी टोखामा घरेलु उत्पादनको प्रदर्शनीसहितको महोत्सव हुने भएको छ ।

समाचारडेस्कसँगको कुराकानीमा टोखा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक राज जोशीले गृहिणीहरुबाट उत्पादित विभिन्न घरेलु उत्पादनको महोत्सव गर्न लागेको जानकारी गराउनुभयो ।

‘गृहिणीहरुले घरमै बसेर कपडाको जुत्ता, उनको मोजा पंजा, अचार लगायतका विभिन्न वस्तुहरु बनाइरहेका हुन्छन् । यस्ता सामग्रीहरुलाई बजार दिनको लागि प्रदर्शनीको आयोजना गर्ने योजना बनाएका छौं’ वडाध्यक्ष जोशीले जानकारी गराए ।

हरेक महिना प्रदर्शनीको आयोजना गर्ने र माघ महिनाको अन्तिम साता पहिलो प्रदर्शनी गर्ने योजना रहेको पनि जोशीले सुनाउनुभयो । वडाध्यक्ष जोशीका अनुसार अहिले पहिलो प्रदर्शनीको लागि आवश्यक व्यवस्थापनका कामहरु र विभिन्न महिला समूहहरुसँग छलफल भइरहेको छ ।

आर्थिक गतिविधिमा महिलाहरुलाई सक्रिय बनाउनुका कोरोनाले थलिएको समाजलाई उकास्नका लागि पनि प्रदर्शनी गनि लागेको उहाँले बताउनुभयो ।

‘महिलाहरुले घरमै बसेर विभिन्न उत्पादन गरीरहेका हुन्छन् तर बजारीकरणमा समस्या हुन्छ,’ जोशीले भने । ‘लकडाउनका कारण समाजको आर्थिक स्थिती पनि खस्किएको छ । यी दुवै समस्यालाई ध्यानमा राखेर प्रदर्शनीको योजना बनेको हो ।’

प्रदर्शनीको समयमा टोखा भ्रमण गर्दै आन्तरिक पर्यटनलाई पनि टेवा दिन र सामाजिक आर्थिक गतिविधिलाई क्रियाशील बनाउनमा टेवा दिन जोशीले आव्हान गर्नुभयो ।

Categorized in समाज