सुरक्षा निकायहरुको सक्रियता अझै बढाउन गृहमन्त्री श्रेष्ठको निर्देशन
SamacharDesk – बिराज | २०८० माघ २१, आइतबार

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै प्रकारका आपराधिक गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायहरुको सक्रियता अझै बढाउनु पर्ने बताएका छन् ।
शुक्रबारदेखि पोखरामा सुरु भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८० को समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले यस्तो भनेका हुन् ।
नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको आयोजनमा ‘विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार’ लगायतका विषयमा गोष्ठी सुरु भएको हो ।
सो अवसरमा गृहमन्त्री श्रेष्ठले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा विभिन्न कानूनहरूको निर्माण गर्दै शान्ति भंग गर्ने र संविधान विरूद्ध काम गर्नेहरुप्रति कडा रूपले प्रस्तुत हुने नीति अवलम्बन गरिएको बताए ।
समारोहमा गृहसचिव दिनेश भट्टराईले सबै सुरक्षा निकायहरूले आपसी समन्वय गरी सफलतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्दै कानून विपरितका गतिविधि नियन्त्रण गर्न गोष्ठीको निष्कर्ष फलदायी हुने विचार राखे ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको अपराध नियन्त्रण लगायत शान्ति सुरक्षा कायम गर्ने काममा प्रदेशले प्रहरीलाई आवश्यक सहयोग गर्ने बताए ।
गोष्ठीमा गण्डकी प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो ।
गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेना युद्धकार्य विभागका उपरथी प्रेमध्वज अधिकारी लगायतकाे सहभागीता थियाे ।
साथै गृह मन्त्रालयका पदाधिकारीहरू, नेपाली सेनाका प्रतिनिधि, गण्डकी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरू पनि कार्यक्रममा सहभागि थिए ।
Categorized in राष्ट्रिय