arin enterprises

हट एयर बेलुन अब तीन गुणा बढी उचाइमा उड्न मिल्ने

SamacharDesk – बिराज | २०८० माघ १९, शुक्रबार

हट एयर बेलुनमा यात्रुलाई उडान गराउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ ।

यस अघि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमश्रृंखला, पोखरा आसपासको दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त अझ राम्रो देख्न पाउने बेलुन नेपालका अध्यक्ष विक्रम बादे बताउँछन् ।

पोखराको लौरुकदेखि चंखपुर क्षेत्रमा पोखरा अन्तराष्ट्रिय विमानस्थलको टावर फ्रिक्वेन्शी निरन्तर मोनिटरिङ गरी उडान गर्न नेपाल सरकार, मन्त्रीस्तरको निर्णय अनुसार अनुमति प्रदान गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ए.टि.सि. अधिकृत मुकेश डंगोलले बताए ।

उडान स्थलको प्राविधिक जाँच र हाल उडानमा रहेको बेलुनको उत्पादक कम्पनीको फ्लाइट म्यानुअल समेतको अध्ययन पछि अनुमति प्राप्त गरेको बादेले बताए ।

तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो हट एयर बेलुन । नेपालमा पोखरामा मात्रै सञ्चालित हट एयर बेलुन साहसिक पर्यटनका पारखीको आकर्षण बनेको छ ।

बेलुनको बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्दछन् । आधा घन्टा उडानको नेपाली पर्यटकले ९ हजार ५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । ३ देखि ९ बर्षका बालबालिकाहरूका लागि प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क कायम गरिएको छ ।

भारतीय तथा सार्क मुलुकका नागरिक र अन्य देशका नागरिकका लागि फरक शुल्क रहेको छ ।

Categorized in बिजनेस