राष्ट्रियसभा निर्वाचनका मतदाता लागि अन्तिम नामावली प्रकाशित
SamacharDesk | २०८० पौष २२, आइतबार

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आइतबार आयोगले माघ ११ गते हुने निर्वाचनका लागि सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो । राष्ट्रिय सभा सदस्यका लागि सोमबार मनोनयन हुँदैछ ।
प्रदेशगत हिसाबले कोशीमा ९३, मधेशमा १०७, बागमती ११०, गण्डकी ६०, लुम्बिनी ८७, कर्णाली ४० र सुदूरपश्चिम प्रदेशमा ५२ गरेर कुल मतदाता सङ्ख्या ५४९ रहेको छ । आयोगका अनुसार कुल मतभार भने ५७ हजार ५५९ रहेको छ ।
स्थानीय तहका १४९८ रहेका छन् । जसमा प्रदेश सभामा प्रति मतदाताको ५३ मतभारका दरले जम्मा मतभार २९ हजार ९७ रहेको छ भने स्थानीय तहको प्रति मतदाताको १९ मतभारका दरले जम्मा मतभार २८ हजार ४६२ रहेको छ ।
दुबै तर्फ गरेर २०४७ मतदाताको जम्मा मतभार ५७ हजार ५५९ रहेको निर्वाच्न आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम पौडेलले जानकारी दिए ।
यता राष्ट्रियसभा निर्वाचनको लागि गठबन्धन दलहरु सिट बाँडफाँडको लागि लामो छलफलपछि टुंगोमा पुगेको छ । आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले १९ सिटमा बाँडफाँटको टुंगो लगाएको हो ।
बैठकमा सहभागी नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले १९ सिटमध्ये १० मा नेपाली काँग्रेस, ६ वटा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), २ वटा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एउटा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिनेगरी टुंगो लागेको बताउनु भयो ।
Categorized in राजनीति