स्वर्गीय पत्रकार शाक्यको परिवारलाई एक लाख रुपैयाँ प्रदान
SamacharDesk – बिकाश | २०७७ कार्तिक २९, शनिबार

नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय अग्रज पत्रकार विक्रम शाक्यको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । पत्रकार राष्ट्रिय दबूले शनिबार पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा एक श्रद्धाञ्जली सभाको आयोजना गरी सहयोग स्वरुप सो रकम प्रदान गरेको हो ।
सो रकम पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य र कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले संयुक्त रुपमा स्वर्गीय शाक्यका पत्नी धनलक्ष्मी शाक्यलाई हस्तान्तरण गर्नुभयो ।
पत्रकार दबूया केन्द्रीय अध्यक्ष बज्राचार्यले नेपाल भाषाका अग्रज पत्रकार स्वर्गीय शाक्यले भाषा, साहित्य, संस्कृति र लिपिको विकासको लागि पत्रकारिताको माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । पत्रकारितासँगै समाजमा राम्ररी भिजेर काम गर्ने शाक्यको सामाजिक सीप, सहयोगी भावना र व्यक्तित्व बारे बज्राचार्यले चर्चा गर्नुभयो ।
‘जोकोहीलाई पनि मर्दापर्दा दिलोज्यान दिएर सहयोग गर्ने उहाँको स्वभावले पत्रकारिता पेशालाई अझ प्रतिष्ठित बनाएको अनुभव गरेको छु’ बज्राचार्यको भनाई थियो ।
दबूका केन्द्रीय वरिष्ठ उपाध्यक्ष साथै कार्यक्रम संयोजक नृपेन्द्रलाल श्रेष्ठले सूचना सम्प्रेषणमा अग्रपंक्तिमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरुको स्वास्थ्य समस्याको अवस्थाका लागि पत्रकार राष्ट्रिय दबूले अक्षयकोष स्थापना गरेको जानकारी गराउनुभयो ।
विभिन्न सहयोगी र शुभेच्छुकहरुको सहयोगबाट सोही कोषमार्फत यथोचित सहयोग गर्ने कार्यलाई निरन्तरता दिँदै आएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
पत्रकार राष्ट्रिय दबूका निर्वतमान अध्यक्ष श्रीकृष्ण महर्जन, महासचिव सुनील महर्जनले विक्रम शाक्यले भाषिक, साहित्यिक साथै ललितपुरको विविध गतिविधिलाई सञ्चारसंग जोड्नका लागि पत्रकारिता मार्फत योगदान पु¥याएको योगदानको चर्चा गरेका थिए ।
‘उहाँको समग्र योगदानलाई लिपिबद्ध गर्नुपर्ने खाँचो छ, ताकि उहाँको जीवनीबाट वर्तमान पुस्ता र नयाँ पुस्ताका पत्रकारहरुलाई सधै प्रेरित गरिरहुन्’ महासचिव महर्जनले भन्नुभयो ।
स्वर्गीय शाक्यका पत्नी धनलक्ष्मी शाक्यले दुःखड घडीमा धैर्य बढाउन साथ, सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
सो अवसरमा उहाँका छोरा लूजः शाक्यको पनि उपस्थिति रहेको थियो ।
झण्डै तीन दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील शाक्यको ४९ वर्षको उमेरमा गत असोज १५ गते बिहीबार निधन भएको थियो ।
Categorized in समाज