arin enterprises

‘पर्यटन क्षेत्रलाई केन्द्रीत गर्दै अर्थतन्त्र मजबुद बनाउन भूमिका खेल्छु’

SamacharDesk – बिराज | २०७९ कार्तिक २३, बुधबार

आसन्न आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपा (एस) का उम्मेदवार जीवनराम श्रेष्ठले आफ्नो अघिल्लो कार्यकालको उदाहरणीय कामहरुको निरन्तरताका लागि फेरी पनि उम्मेदवारी दिएको बताएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका उम्मेदवार श्रेष्ठले समाचारडेस्कसँग कुरा गर्दै अघिल्लो कार्यकालमा आफुले आफ्नो क्षेत्रको साथमा समग्र देशकै विकास र आर्थिक समृद्धिमा टेवा पुग्ने योजनाहरु अघि बढाएको दावी गरे ।

कुराकानीको क्रममा श्रेष्ठले अघिल्लो निर्वाचनको समयमा विकास निर्माण र राष्ट्रिय राजनीतिमा आफुले जाहेर गरेका प्रतिवद्धतामा इमान्दारीपूर्वक लागेर काम गरेको बताए ।

‘यस क्षेत्रमा कतिपय समस्या समाधान भइसकेको छ भने कतिपय बाँकि छन् । विगतका राम्रा कामको निरन्तरता, बाँकि काम पूरा गर्न र आम नागरिकको आर्थिक समृद्धिका लागि नयाँ योजना अघि बढाउन मेरो उम्मेदवारी हो’ श्रेष्ठले भने ।

आफुले अघिल्लो कार्यकालमा स्थानीय संस्कृति र अर्थतन्त्रलाई हनुमानढोकादेखि स्वयम्भूसम्म सम्पदा मार्ग, नागार्जुनमा होमस्टेलगायतका योजनालाई अघि बढाएको स्मरण गराए ।

यी योजनाहरुले स्थानीय जनतालाई लाभान्वित गराउनुका साथै स्थानीय संस्कृतिको संरक्षणमा समेत टेवा दिने उनको दावी हो ।

‘हनुमानढोकादेखि स्वयम्भूसम्म वर्ल्ड हेरिटेज छु वर्ल्ड हेरिटेज ट्रेल बनाउने योजनाले गति लिइसकेको अवस्था छ, नागार्जुनमा स्थानीय वासिन्दालाई होमस्टेको तालीम दिइएको छ । यी योजनाले मूर्त रुप लिइसकेपछि यहाँका स्थानीय संस्कृति संरक्षणमा टेवा पुग्नुका साथै पर्यटकलाई आकर्षित गर्नेछ र स्थानयि जनता लाभान्वित भई आर्थिक समृद्धितर्फ अघि बढ्ने स्थिती बन्नेछ’ श्रेष्ठले बताए ।

कोभिड संक्रमण तीब्र गतिमा फैलिएको समयमा पनि आफ्नो सक्रियता अघिल्लो कार्यकालको स्मरणीय काम भएको श्रेष्ठले दाबी गरेका छन् ।

सो समयमा संसदको स्वास्थ्य तथा शिक्षा समितिको उपसमिति संयोजकको रुपमा सरकारले गरेका कामको निरिक्षण र अनुगमन गर्दै पिसिआर परिक्षणको सहज शुल्क तोक्ने, सरकारलाई आवश्यक सल्लाह, सुझाव, निर्देशन दिने काम गरेको उनले बताए ।

साथै उनले स्वयम्भूमा रहेको आनन्दकुटी विद्यापीठमा जीर्ण भवनको मर्मत सम्भार गरी ५० बेडको आइसोलेसन पनि संचालन गरेका थिए ।

‘सो आइसोलेसनमा निःशुल्क चार छाक खाना, २४सै घण्टा डाक्टर, नर्स, अक्सिजनको सुविधासहित ४ वर्षका बालबालिकादेखि ९३ वर्षका ज्येष्ठ नागरिकसम्मलाई सेवा दियौं ।

साथै कोभिड संक्रमितलाई हेला गर्ने होइन, ढाडस दिनुपर्छ भन्ने सन्देश दिँदै होम आइसोलेसनमा बसेका संक्रमितलाई आवश्यक सुरक्षा अपनाउँदै भेटघाट गरेर मास्क, स्यानिटाइजर, पौष्टिक खानेकुरा र केही आयूर्वेदिक औषधी पनि बाँड्ने काम गरेका थियौं’ श्रेष्ठको भनाई थियो ।

देशको हालको स्थितीको सुधार गर्नका लागि पनि आफुले उम्मेदवारी दिएको श्रेष्ठले बताए ।

हिजोको केपी ओली शर्माको सरकारले गरेका गलत काम र लिएका गलत नीतिको कारणले अहिले देशको अर्थतन्त्रमा नकारात्मक असर परेको बताउँदै श्रेष्ठले देशलाई यस्तो अवस्थाबाट निकास दिन योगदान दिन पनि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठले भने ।

‘वर्तमान अर्थतन्त्र वैदेशिक रोजगारमा गएकाहरुको रेमिटेन्समा निर्भर छ । यस समस्याबाट निकाल्न उद्योग, व्यवसाय विकास, रोजगारीको अवसरको साथै स्वरोजगार बन्ने वातावरण बनाउन भूमिका खेल्नेछु’ श्रेष्ठले आफ्नो योजना सुनाए ।

साथै कृषि क्षेत्रलाई व्यवस्थित बनाउने, जलश्रोत, पर्यटन क्षेत्रलाई केन्द्रीत गर्दै अर्थतन्त्र मजबुद बनाउन पनि आफुले योजना अघि सार्ने पनि उनले बताए ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082