arin enterprises

कीर्तिपुरमा मच्छिन्द्रनाथको प्रतिमूर्ति प्यंगःथांबाट हटाइने

SamacharDesk – बिराज | २०७९ चैत्र २९, बुधबार

विगत केही समय अघिबाट विवादमा रहेको कीर्तिपुरमा स्थापना गरिएको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति प्यंगःथांबाट हटाइने भएको छ ।

कीर्तिपुर नगरपालिकाको जिम्मेवारीमा व्यवस्थापन गर्ने गरी रातो मच्छिन्द्रनाथको मूर्तिलाई हाल राखिएको कीर्तिपुर–२ प्यंगःथांबाट हटाएर सुरक्षित स्थानमा राख्ने सहमति भएको हो ।

बुधवार कीर्तिपुर नगरपालिकाको कार्यकक्षमा सम्पन्न परम्परागत दाफा बाजा खलःको साथै सरोकारवाला समुदायको प्रतिनिधिहरुको वैठकले यस्तो सहमति गरेको हो ।

रातो मच्छिन्द्रनाथको जात्राको क्रममा कीर्तिपुरमा रहेकी शक्ति स्वरुपा कन्या कुमारी ‘याकः मिसा’लाई मच्छिन्द्रनाथका पूजारी जल पानेजुहरुले फुल चढाउन जाने परम्परा रहेको छ ।

रातो मच्छिन्द्रनाथको रथ भोटो जात्राको लागि थतिटोलबाट तानेर जावलाखेल पुर्‍याउने चार दिन अघि पानेजुहरु प्यंगःथांमा पुगी याकः मिसालाई प्रसाद चढाउने गरिन्छ ।

रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति कीर्तिपुरमा स्थापना गरिपछि भने सो प्रतिमूर्ति कीर्तिपुरमा रहेसम्म फुल चढाउन नजाने अडान पानेजुहरुले राखेका थिए ।

रातो मच्छिन्द्रनाथ नै कीर्तिपुरमा स्थापना गरिए फुल चढाउन जानुको कुनै अर्थ नरहने पानेजुहरुले बताउँदै आएका थिए ।

यस्तो परिस्थितीमा करीब डेढ शताब्दी पुरानो परम्परा रोकिने अवस्था आएपछि कीर्तिपुर नगरपालिकाले सरोकारवालाहरुसँग वैठक राखेको हो ।

नगर प्रमुख राजकुमार नकर्मीसमेतको उपस्थितीमा बसेको वैठकले परम्परालाई निरन्तरता दिनका लागि भन्द्रै सो प्रतिमूर्ति प्यंगःथांबाट हटाई नगरपालिकाको जिम्मेवारीमा ब्यवस्थापन गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको हो ।

यस अघि चैत्र १४ गते मंगलबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको उपस्थितीमा ललितपुर महानगरपालिका कार्यालयमा सम्पन्न बैठकले सो मूर्ति त्यहाँबाट हटाएर ‘गुठी संस्थानको बन्द कोठामा राख्ने निर्णय गरेको थियो ।

त्यसबेलामा भने सुखी गःछेँ समाजका पदाधिकारीहरु ‘पेलेर एकपक्षीय निर्णय गर्न खोजेको’ भन्दै बैठकबाट बाहिरिएका थिए ।

बुधबारको बैठकले भने कीर्तिपुरबासीको धार्मिक आस्थालाई मध्यनजर गरी मूर्तिलाई कीर्तिपुरभित्रै व्यवस्थापन गर्ने निर्णय गरिएको नगरपालिकाका मेयर नकर्मीले बताए ।

यस अघि गत पुस २५ गते पुरातत्व विभागले समेत सो मूर्ति प्यंगःथांबाट हटाउन भन्दै पत्र जारी गरिसकेको छ ।

विभिन्न चरणको वैठकको निर्णय, पुरातत्व विभागको आदेश आदि पछि पनि मूर्ति हालको स्थानबाट हटाइएको थिएन । बुधवार सम्पन्न वैठकको निर्णय पछि भने चार महिना अघिदेखि चलि आएको विवाद सुल्झिने आशा गरिएको छ ।

वैठकमा कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सुनिता शाक्य, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा, वडा १, २, ३, ७, ९ र १० का वडाध्यहरुका साथै विभिन्न परम्परागत दाफा, बाजा खलःका प्रतिनिधि र संचारकर्मीहरु समेतको उपस्थिती रहेको थियो ।

Categorized in संस्कृति