arin enterprises

प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ माघ २५, बुधबार

निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले शान्ति सुरक्षाका साथै सामाजिक विकासका हरेक पक्षहरूसँग सरोकार राख्ने भएकोले प्रहरी अधिकृतहरूले बौद्धिक रूपमा रचनात्मक कार्य अघि बढाउन सक्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा प्रहरी निरीक्षक आधारभूत तालिमको उद्घाटन गर्दै थापालो यस्तो भनेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा पोस्ट ग्राजुएट डिप्लोमा इन पोलिस साइन्सेज कार्यक्रम समावेश भएको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२ औं समूहको सुरुवात गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रहरी महानिरीक्षक थापाले प्रहरी निरीक्षक आधारभूत तालिम अन्तर्गत संचालित यो कोर्सबाट सामाजिक उत्तरदायी, सिर्जनशील र परिणाममुखी व्यावसायिक प्रहरी अधिकृतहरूको विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले नेपाल प्रहरीहरु आफ्ना कमि कमजोरीलाई आफैले औल्याउँदै सुधार गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने विचार राखे ।

सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्याय, तालिम संयोजक प्रहरी उपरीक्षक रमेश थापालगायतले तालिम सम्बन्धी जानकारीको साथमा आफ्ना विचार राखे ।

तालिममा खुल्ला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीयतर्फका प्रहरी निरीक्षक ११० जना र खुल्लातर्फबाट नवनियुक्त प्रहरी निरीक्षक ३९ जना गरी कूल १४९ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा कार्यक्रमका सल्लाहकार प्रा.डा.राजीव विक्रम राणा, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

Categorized in समाज