‘मुद्दाका कारण काष्ठमण्डपको उद्घाटन रोकियाे’–शाक्य
SamacharDesk – बिराज | २०७८ फाल्गुण २१, शनिबार

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डपको उद्घाटन मुद्दा मामिलाका कारण रोकिएको बताउनुभएको छ ।
काठमाडौंको थायमदु (बाङ्गेमुढा) मा आयोजित ‘थायमदु त्वाः मुना’ कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएर उद्घाटनको मुखैमा पुग्दा अनावश्यक विवाद निकालिएको दावी गर्नुभयो ।
‘न मसँग केही कुरा भयो, न वडाध्यक्ष अथवा उपभोक्ता समितिसँग, एकैपल्ट अदालतमा मुद्दा हालियो । सम्पदा संरक्षणको हरेक जसो पाइलामा मुद्दा मामिला गर्दै रोक्ने काम भयो’ शाक्यले भन्नुभयो ।
काष्ठमण्डपमा गोरखनाथको मूर्तिको विषयलाई लिएर विवाद भएको हो । ७२ सालको भूकम्पमा परी काष्ठमण्डपमा गोरखनाथको पुरानो मूर्ति क्षति भएको र टुक्रिएको मूर्ति पूजा गर्न नमिल्ने भनी नयाँ मूर्ति प्रतिस्थापन गर्न लागिएको थियो ।
ऐतिहासिक सम्पदा त्यसरी प्रतिस्थापन गर्न नहुने भन्दै हाल यो विषयमा सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।
बाङ्गेमुढाको त्वाःछेँ (टोल घर) को विषयमा भने शाक्यले अदालतमा विचाराधीन विषयमा सार्वजनिकमा कुनै टिकाटिप्पणी गर्न नमिल्ने भनेका थिए ।
बाङ्गेमुढामा रहेको त्वाःछेँ टोलवासीहरुले स्थानीय नै मिलेर आर्थिक श्रोत जुटाइ आफैं बनाएको भन्दै आएका छन् । सो भवन निर्माण सम्वन्धि आर्थिक विवरणसहितको शिलालेख पनि त्यहाँ सुरक्षित रहेको छ ।
काठमाडौं महानगरपालिका २५ वडा कार्यालयले भने उक्त भवन काठमाडौं महानगरपालिकाकै सम्पत्ति भनी दावी गर्दै आएको छ । हाल यो विषय पनि अदालतमा विचाराधीन छ ।
कामपा २५ वडा कार्यालयले सोही स्थानमा आफ्नो भवन बनाउने योजना बनाएको छ ।
कार्यक्रममा बोल्दै अधिकारकर्मी मल्ल के. सुन्दरले स्थानीय वासिन्दा भावना, रगत पसिना मिस्सिएको त्वाःछेँको संरक्षण पनि स्थानीय सरकारकै दायित्व भएको बताए ।
अन्य टोलमा महानगर आफैंले त्वाःछेँ, आखाछेँ पुनर्निर्माण, जिर्णोद्धार गरिरहेको अवस्थामा थायमदु त्वाःछेँको लागि मात्र सौतेनी व्यवहार भएको गुनासो मल्लले गर्नुभयो ।
वडा भवनको लागि विकल्प आफैंले उपलब्ध गराउँदा पनि विकल्पमा बेवास्ता गर्दै वडाले त्वाःछेँ नै किन हडप्न खोजेको भन्दै मल्ले प्रश्न राख्नुभयो ।
‘वडा भवनको सेवाग्राही हामी नै हौं, यहाँ वडा भवन बन्ने विषयमा हामी खुसी नै छौं । तर वडालाई यहि त्वाःछेँ किन चाहिएको हो, हामीले बुझ्न सकेनौं’ मल्लको भनाई थियो ।
विगतमा सोही भवनबाट नेपालभाषा मंकाः खलः, नेपाल आदिवासी जनजाति महासंघको कार्यालय पनि संचालन भइसकेको छ भने शहिद शुक्र क्लब पनि यसै भवनमा रहेको छ ।
विगतमा त्वाःछेँको पुनर्निर्माणको लागि शहिद शुक्र क्लबमार्फत काठमाडौं महानगरले नै आर्थिक सहयोग उपलब्ध गराउन लागेको थियो ।
सोही कार्यक्रममा महानगर प्रमुख शाक्यले मल्लद्वारा लिखित बाङ्गेमुढा टोलको ऐतिहासिक जानकारीमूलक पुस्तक ‘थायमदु त्वाः छपुलु’ को विमोचनसमेत गर्नुभएको थियो ।
कार्यक्रममा पुस्तक सम्वन्धि प्रा. नर्मदेश्वर प्रधान र आशा सफुकुथिका पुस्तकालय अध्यक्ष साथै नेपालभाषा केन्द्रीय विभागका शिक्षण सहायक शरद कसाःले समीक्षात्मक टीप्पणी गरेका थिए ।
त्वाःछेँ समितिका अध्यक्ष प्रा.डा. रमेश श्रेष्ठ, उपाध्यक्ष राजेश प्रसाद श्रेष्ठ, कोषाध्यक्ष रिजेन्द्र राजभण्डारीले बाङ्गमुढा टोलका धार्मिक, सांस्कृतिक पक्षको साथै त्वाःछेँ समितिको गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा कन्या मन्दिर उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरुको नृत्यको साथै जनगायक भृगुराम श्रेष्ठ र गायक पवित्र कसाःको सांगितिक प्रस्तुतिसमेत रहेको थियो ।
Categorized in समाज