हिन्दीलाई विश्वभाषा बनाउँदै भारत
SamacharDesk | २०८० श्रावण ११, बिहिबार

भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवर्द्धन गर्न भारत सरकारले कदम चालेको हो ।
यसको लागि भारतले संयुक्त राष्ट्रसंघलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ ।
संयुक्त राष्ट्रसंघका लागि भारतका प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसंघको विश्व सञ्चार विभागकी उपसचिव मेलिसा फ्लेमिङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
उपसचिव मेलिसाले बहुभाषिकतालाई अझै ठूलो बनाउने उद्देश्य तथा भाषागत समावेशिता प्रवर्द्धनमा भारत सरकारको यो योगदानबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यसवाट विश्वसंस्थाले हिन्दी भाषालाई बढी प्रयोग गर्नाका साथै त्यसबाट अन्तर्राष्ट्रिय मामिलामा हिन्दी भाषीको संलग्नता पनि बढाउने विश्वास भारतीय राजदूतले व्यक्त गरे ।
भारतले संयुक्त राष्ट्रसंघमा हिन्दीको प्रयोगलाई प्रोत्साहन गर्नुको मुख्य कारण हिन्दी भाषीलाई विश्वव्यापी मान्यता दिनु हो । विश्वव्यापी रुपमा सबैभन्दा धेरै बोलिने भाषामध्ये हिन्दी पनि एक हो ।
यो भाषा भारतमा मात्र नभई अन्य धेरै राष्ट्रहरुमा पनि बोल्नेहरु छन् । संयुक्त राष्ट्रसंघका गतिविधिको मल्टिमिडिया सामग्री र समाचारको उत्पादन, हिन्दीभाषी सर्वसाधारणसमंक्ष विभिन्न सामाजिक सञ्जालमा पोष्ट गर्न र हिन्दी भाषा बोल्नेहरुको आवाजलाई विश्वव्यापीस्तरमा पुर्याउन सहायता रकम उपयोग हुने बताइएको छ ।
राष्ट्रसंघको मल्टिमिडिया प्लेटफर्म बाटसमाचार, विचार, विश्लेषण लगायत सामग्रीहरु हिन्दी भाषामा प्रकाशन एवम् प्रसारण भएमा हिन्दी भाषीहरूलाई अन्तरराष्ट्रिय विषयमा बुझ्न र त्यसबारेका हुने बहसहरुमा पनि अझ सक्रिय रुपमा भाग लिन सक्ने छन् ।
यसको साथै अन्तरराष्ट्रिय समुदायमा थप समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न सहयोग पुग्ने भारतको स्थायी नियोगले जनाएको छ । नियोगका अनुसार बहुल संस्कृति र समूहमा सञ्चार गर्न तथा आपसी समझदारीलाई बढावा दिने प्रयासस्वरुप राष्ट्रसंघलाई अनुदान रकम उपलब्ध गराइएको हो ।
भाषिक समावेशीकरणका माध्यमबाट विविधतापूर्ण र समान संस्कृतिको प्रवर्द्धनका र विभिन्न भाषिक समूहबीचको दुरीलाई कम गर्दै हिन्दी भाषीक जनसंख्यालाई बलियो बनाउने छ ।
यस्तै विश्वव्यापी घटनाहरुमा उनीहरुको सक्रिय संलग्नतालाई बढाउने नियोगको विश्वास छ । भारत सरकारले हिन्दी भाषाको प्रवर्द्धनका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि कम्बोजले व्यक्त गरेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय