arin enterprises

भारतका पूर्व सांसदको गोली हानी हत्या

SamacharDesk | २०८० बैशाख ३, आइतबार

भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ ।

पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला प्रहरी घेरामै गोली हानी हत्या गरिएको हो ।

उत्तर प्रदेशमा चार पटक सांसद रहिसकेका गुण्डा नाइके समेत रहेका अतिक अहमद र उनका भाइ असरफलाई सन् २०१९ मा अदालतले अपहरण, हत्या, असुली र बलात्कारलगायतका मुद्धामा दोषी ठहर गरेको थियो ।

गुजरातको सावरमती जेलमा राखिएका उनीहरुलाई गत महिना ठूलो सुरक्षासहित उत्तर प्रदेशको प्रयागराज ल्याइएको थियो ।

गए राती स्वास्थ्य परीक्षणका लागि जेल नजिकैको अस्पताल लैजाने क्रममा मिडियासंग कुरा गर्दै अघि बढेको बेला भीडबाट उनीहरुमाथि गोली प्रहार भएको थियो । गोली हानेको दृष्य पनि क्यामेरामा कैद भएको छ ।

घटनालगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लवलेश तिवारी, अरुण मौर्य र सनी कासगञ्ज रहेका छन् । उनीहरु रिपोर्टर बनेर अहमद दाजूभाईको नजिक पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अतिक अहमद विरुद्धका एक सय भन्दा बढी मुद्धा अदालतमा विचाराधीन छन् । अतिक अहमदका हरेक बदमासीमा उनका भाइ असरफको साथ रहने गरेको पनि प्रहरीको भनाइ छ ।

अतिक अहमदका छोरा असाद दुई दिन अघि झाँसीमा प्रहरी कारबाहीमा मारिएका थिए ।

Categorized in अन्तर्राष्ट्रिय