भारतको जनसंख्याले चीनलाई उछिन्यो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख ६, बुधबार

भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष ‘युएनएफपीए’को पछिल्लो तथ्यांकले भारतमा चीनमाभन्दा २९ लाख बढी जनसंख्या रहेको जनाएको छ ।
युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसंख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको छ भने चीनको जनसंख्या एक अर्ब ४२ करोड ५७ लाख मात्र रहेको उल्लेख गरिएको छ ।
गत वर्ष चीनको जनसंख्या उच्च बिन्दुमा पुगेर घट्न थाल्यो थियो भने सोही अवधिमा भारतको जनसंख्या बढ्दै गएको थियो ।
सन् १९५० मा संयुक्त राष्ट्रसंघले जनसंख्या तथ्यांक संकलन र जारी गर्न थालेपछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो ।
यस्तै प्रतिवेदनअनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि रहेको छ । चीनमा महिलाको सरदर आयु ८२ वर्ष तथा पुरुषको ७६ वर्ष छ तर भारतमा महिलाको सरदर आयु ७४ र पुरुषको ७१ वर्ष रहेको छ ।
भारतलाई अहिले जनसांख्यिक लाभ भएको विज्ञहरुका बताएको छ । उपभोक्ता सञ्चालित अर्थतन्त्रमा युवा जनसंख्याको अधिकताले देशको विकासलाई अघि बढाउन मद्दत गर्नेछ ।
त्यस्तै देशको आर्थिक वृद्धिका लागि पनि ठूलो अवसर प्रदान गर्नेछ ।
देशलाई आन्तरिक खपतका निम्ति श्रमिक आपूर्तिमा समस्या नहुने भएको कारण बाह्य समस्याबाट पनि भारतलाई जोगिन सहज हुनेछ ।
Categorized in अन्तर्राष्ट्रिय