भारतीय पर्यटकहरुले फोनपे क्यूआरमार्फत नेपालमा भुक्तानी गर्नसक्ने
SamacharDesk | २०८० फाल्गुण १७, बिहिबार

भारतीय पर्यटकले नेपालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नसक्ने भएका छन् । यो सुविधा नेपालको भुक्तानी संचालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको सम्झौता अनुसार बुधबारदेखि प्रारम्भ भएको हो ।
यो सेवा लिन भारतमा भिम यूपीआई र फोनपे भुक्तानी सेवाप्रदायक प्लेटफर्म प्रयोग गर्दै आएका ग्राहकले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् ।
यसको लागि भारतीय प्रयोगकर्ताले फोनपे वा भिम एपमा इन्टरनेसनल यूपीआई पेमेन्ट्स एक्टिभेट गरेपछि मात्र नेपालमा फोन पे क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न मिल्नेछ ।
अन्तरदेशीय भुक्तानी (अन्तरदेशीय) का लागि हालसम्म ईसेवा, खल्ती वालेटसहित आधा दर्जन बढी बैंक आबद्ध भइसकेको फोनपेले जनाएको छ ।
यी वित्तीय संस्थाले मर्चेन्टका लागि वितरण गर्ने फोनपे क्यूआर कोडमा भारतीय सेवाग्राहीबाट भुक्तानी पाउने छन् । भुक्तानी गर्दा लाग्ने सेवा शुल्क भने वालेट तथा वित्तीय संस्था आफैंले निर्धारण गर्ने बताएको छ ।
तर नेपाली सेवाग्राहीले भने तत्काल भारतमा भुक्तानी गर्न भने पाउने छैनन् । यसका लागि फोनपेले नेपाल राष्ट्र बैंकको स्वीकृति पर्खिरहेको छ ।
राष्ट्र बैंकबाट स्वीकृति पाएपछि नेपालका डिजिटल वालेट तथा मोबाइल बैंकिङ एपहरुबाट भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सकिनेछ ।
Categorized in अन्तर्राष्ट्रिय