arin enterprises

इण्डोनेसियामा फुलबल खेलको दौरान भागदौड मच्चिँदा १२७ जनाको मृत्यु

SamacharDesk | २०७९ आश्विन १६, आइतबार

इण्डोनेसियाको जाभास्थित फुटबल खेलमा खेल चलिरहँदा भागदौड मच्चिँदा कम्तिमा १ सय २७ जनाको मृत्यु भएको छ । घटनामा एक सय ८० जना घाइते भएका छन् ।

हुलदङ्गा मच्चाउने समर्थकमाथि प्रहरीले टियर ग्यास प्रहार गरेपछि भागदौड मच्चिएर दूर्घटना भएको अधिकारीहरूले बताएका छन् ।

पूर्वी जाभामा अरमेरा एफसीले परसेबाया सुराबायाविरुद्धको खेल हारेपछि हुलदङ्गा सुरु भएको थियो । घटनाको भिडियोमा अन्तिम सिट्टी बजेलगत्तै समर्थकहरू मैदानमा प्रवेश गरेको देखिन्छ ।

त्यसलगत्तै प्रहरीले टियर ग्यास प्रहार गरेको र त्यसपछि भागदौड मच्चिएको प्रहरी प्रमुख निको अफिन्ताले बताएका छन ।

मृत्यु हुनेमा दुई जना प्रहरी अधिकारीहरू पनि रहेको बताइएको छ । ३४ जनाको मृत्यु स्टेडियमभित्रै र बाँकीको अस्पतालमा भएको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरुमा शवहरू मैदानमा यत्रतत्र छरिएको देखिन्छ । इन्डोनेसियाको फुटबल एसोसिएसनले घटनाको छानबिन सुरु गरेको छ भने त्यहाँको शीर्ष लिग बीआरआई लिगा वानलाई एक हप्ताको लागि स्थगित गरिएको छ ।

Categorized in अन्तर्राष्ट्रिय