दुईवटा रथ तान्दै मेलबर्नमा ईन्द्रजात्रा मनाइने
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ भाद्र ३०, मंगलबार
मेलबर्न अष्ट्रेलिया । आगामी २६ सेप्टेम्बर शनिबार मेलबर्नको नेपाली मन्दिर अर्थात् अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरमा ईन्द्रजात्रा मनाईँदैछ ।
आयोजक संस्था नेवा गुथि भिक्टोरियाले एक पत्रकार सम्मेलनमार्फत मेलबर्नमा दोश्रो पटक मनाइन लागेको ईन्द्रजात्राको सम्बन्धमा जानकारी दिइएको थियो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस पटकको ईन्द्रजात्रामा दुईवटा रथ तयार गरिँदैछ । यस पटक कुमारीका साथै गणेशको रथ समेत तयार गरिँदैछ ।
गुथिका अध्यक्ष अध्यक्ष माया सुवालले महिनौंदेखि पुलुकिसि नाच, धिमे बाजा बजाउने टोलीले तयारी गरिरहेको जानकारी दिए ।
‘ईन्द्रजात्रा २०२६ ले नेपाली अष्ट्रेलियाली व्यापक समूदायबीच सांस्कृतिक सम्बन्ध अझ बलियो बनाउँदै अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपालको सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा छ’ अध्यक्ष सुवालले बताए ।
नेवा गुथि भिक्टोरियाका सल्लाहकार राजन मास्केले ईन्द्रजात्राको ऐतिहासिकताबारे प्रकाश पार्दै अष्ट्रेलियाको बहुसांस्कृतिक वातावरणमा नेपालको विशिष्ठ सांस्कृतिक सम्पदालाई प्रबद्र्धन गर्नुपर्न आवश्यकता औंल्याएका थिए ।
सामूदायिक अगुवा पियुश कायस्थले ईन्द्रजात्रा आयोजना गर्दा आइपर्ने समस्या, तिनको समाधान, रथ निर्माण, यहाँको कानूनी र सुरक्षा मापदण्ड लगायतमा ध्यान दिनुपर्ने विचार राखेका थिए ।
भिक्टोरियाका लागि पूर्व नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुक, बालचौतारीका अध्यक्ष राजीव वाग्ले, मेलबर्न नेप्लीज कम्युनिटी वेष्टका अध्यक्ष विक्रम शर्मा पंगेनी, समूदायका नेता शंकर धरेल लगायतले आआफ्नो विचार राखेका थिए ।
ईन्द्रजात्रा अर्थात् येँयाः नेपालको विशेषगरी काठमाडौं उपत्यका र यहाँ बसोबास गर्ने नेवार समूदायले मनाउने प्राचीन जात्रा हो ।
उपाकू, पुलुकिसि दागिं, बौमत लगायतका जात्राहरु धेरै अगाडीबाट चलि आएको बताइने इन्द्रजात्रामा कुमारीको रथयात्रा भने कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले सुरुवात गरेका हुन् ।
अष्ट्रेलियाको मेलबर्नमा भने ईन्द्रजात्रा दोश्रो पटक मनाउन लागिएको हो ।
ईन्द्रजात्रा आयोजनास्थल मेलबर्नको नेपाली मन्दिर परिसरमा त्यस दिन बालबालिकाहरुको लागि विभिन्न गतिविधि पनि सञ्चालन गर्ने, खानाका स्टलहरुका साथै सांगीतिक प्रस्तुतिहरुले पनि उल्लासमय बनाउने योजना आयोजकको रहेको छ ।
Categorized in संस्कृति




