arin enterprises

सरुवा भएका प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षकबाट निर्देशन

SamacharDesk – बिकाश | २०७७ पौष २३, बिहिबार

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै सरुवा भई जान लागेका प्रहरी उपरीक्षकहरु र प्रहरी नायव उपरीक्षकहरुलाई आवश्यक निर्देशन दिनुभएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले हालको परिस्थितिलाई मनन र विश्लेषण गरी सोही अनुरुप कार्य योजना बनाई अगाडि बढ्न सरुवा भई जान लागेका प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो ।

हालको सुरक्षा चुनौति व्यवस्थापन, तस्करी तथा गुन्डागर्दी नियन्त्रण र नेपाल सरकारद्वारा घोषित निर्वाचनलाई मध्यनजर राखी आवश्यक तयारीमा जुट्नुपर्नेमा थापा क्षेत्रीले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले हालै संगठनले लागू गरेको नेपाल प्रहरी कार्य योजना र प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता लगायतका नीति निर्देशनलाई अक्षरस पालना गरी लागू गर्नुपर्ने बताउनुभयो ।

‘सेवाग्राहीले देख्ने र भोग्ने गरी प्रहरी कार्यमा सकारात्मक परिवर्तन आएमा तपाईको उपस्थिति सार्थक हुनेछ,’ क्षेत्रीले भन्नुभयो ।

कार्यालय व्यवस्थापन, साधनस्रोतको उचित परिचालन र मर्मत सम्भार लगायतका दैनिक क्रियाकलापमा विशेष ध्यान दिई चुस्त दुरुस्त रुपमा प्रस्तुत हुन समेत उहाँले निर्देशन दिनुभयो ।

प्रहरी प्रधान कार्यालयले यही पुस २१ गते ३० जना प्रहरी उपरीक्षकहरु र ६९ जना प्रहरी नायव उपरीक्षकहरुको सरुवा गरेको थियो ।

Categorized in समाज