नागरिकको विश्वास बढ्ने गरी काम गर्न प्रहरी महानिरीक्षक कुँवरको निर्देशन
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० फाल्गुण ३, बिहिबार

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी आ–आफ्नो जिम्मेवारी अनुसार काम गर्न प्रहरी कर्चमारीहरू थप सक्रिय हुनुपर्ने बताएका छन् ।
हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्रमा खटेर जान लागेका प्रहरी उपरीक्षकहरूलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले यस्तो भनेका हुन् ।
प्रहरी महानिरीक्षक कुँवरले संगठनलाई सुधार गर्न, थप सुदृढ एवम् बलियो बनाउन सबैको साथ सहयोग आवश्यक रहेको भन्दै व्यावसायिक स्वार्थलाई आत्मसाथ गरी निष्ठावान, इमानदार एवम् सिर्जनशील भई जनपक्षिय काम गर्न निर्देशन दिए ।
कुँवरले आ–आफ्नो कार्यक्षेत्रको अवस्था, समस्या एवम् चुनौतिको विश्लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई काम गर्नुपर्ने उल्लेख गरे ।
मिटरव्याजी, लागूऔषध तथा अन्य तस्करी नियन्त्रणको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन र त्यस्ता गतिविधि विरूद्ध सचेतना अभिवृद्धि गर्न मातहतका कार्यालयहरूलाई समेत क्रियाशील बनाउन थप सक्रिय हुनुपर्नेमा कुँवरले जोड दिए ।
यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिएका थिए ।
Categorized in समाज