arin enterprises

अष्टमातृकासहित रक्तकालीको मूर्ति स्थापना

SamacharDesk – बिराज | २०७९ चैत्र १७, शुक्रबार

काठमाडौंको त्यंघल टोलमा अष्टमातृकासहित रक्तकालीको नयाँ मूर्ति प्रतिस्थापन गरिएको छ ।

तान्त्रिक विधिविधानबाट विभिन्न पूजाहरु सम्पन्न गर्दै बुधबार रक्तकालीको नयाँ मूर्ति प्रतिस्थापन गरिएको हो ।

अष्टमातृकासँगै सिंघिनी, ब्याघ्रिनी, गणेश, लक्ष्मी, नारायण र नागराजको स्वर्णलेपन गरिएको मूर्ति प्रतिस्थापन गरिएको छ ।

मूर्ति स्थापनाका लागि बुधबारदेखि ३ दिनसम्म विशेष पूजा गरिएको थियो । बुधबारका दिन मूर्तिमा प्राण प्रतिष्ठासँगै हवन, रुद्राभिषेक पूजा र नवचण्डी पाठ गरिएको थियो । १२ जना राजोपाध्याय ब्राह्मणहरुबाट यी पूजाहरु सम्पन्न गरिएको थियो ।

त्यस्तै रात्री समयमा पंचबलि दिइएको थियो । दोश्रो दिन विहिबार नवकुमारी पूजा सम्पन्न गरिएको थियो भने शुक्रबार मूल कुमारी पूजा गरिएको थियो ।

कार्यक्रमको आयोजना त्यंघः त्वाः कुमाः खलःले गरेको थियो भने जय श्री भैरवनाथ समूह नेपालका अध्यक्ष पुरुषोत्तम महर्जनले संयोजन गरेका थिए ।

विश्वशान्तिको साथै सम्पूर्ण राष्ट्रवासीको सुस्वास्थ्यको कामनासहित कार्यक्रम आयोजना गरिएको संयोजक महर्जनले बताए ।

प्रतिस्थापन गरिएका मूर्तिहरु ललितपुरका रवि शाक्यले बनाएका हुन् ।

रक्तकालीलाई अष्टमातृकामा चामुण्डाको रुपमा लिइन्छ भने स्थानीयले कुलांभुलु अजिमा भन्ने गरेका छन् । अष्टमातृकामा अन्य देवीहरुमा ब्रह्मायणी, माहेश्वरी, कौमारी, वैष्णवी, बाराही, इन्द्रायणी र महालक्ष्मी रहेका छन् ।

Categorized in समाज