सञ्चार माध्यम र कलाकारको सम्बन्धको विषयमा छलफल
SamacharDesk – बिजयरत्न | २०८१ जेठ ३०, बुधबार

नेपाल चलचित्र कलाकारको आयोजनामा ‘कलाकार र आम सञ्चार’ विषयक विचार गोष्ठि सम्पन्न भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित गोष्ठीका वक्ताहरुले नेपाली कलाकार तथा आम सञ्चारको सम्बन्धका विषयमा छलफल र अन्तरक्रिया गरेका थिए ।
चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित गोष्ठीमा चलचित्र निर्देशक राजेन्द्र सलभले कलाकारिता क्षेत्रमा आवद्ध कलाकारहरुले चलचित्र कलाकार संघ र चलचित्र विकास बोर्डबाट जारी आचार संहिताहरु पालना गर्नुपर्ने धारणा राखे ।
निर्देशक सलभले कलाकारहरुले आचार संहितालाई पालना नगर्दा हुन सक्ने सम्भावित जोखिमका बारेमा समेत प्रष्ट पारेका थिए ।
कलाकर्मी पत्रिकाका प्रधान सम्पादक कृष्ण भट्टराईले कलाकारहरुलाई सञ्चारकर्मीले समाचारको स्रोतको रुपमा उपयोग गरिरहने भएकाले सामाजिक सञ्जालमा सामग्री पोष्ट गर्दा सजग र चनाखो समेत हुनुपर्ने धारणा व्यक्त गरे ।
सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीले कलाकारहरु पत्रकारले सोधेका हरेक प्रश्नको जवाफ दिन बाध्य हुनु नपर्ने धारणा व्यक्त गरे ।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले गोष्ठीको औचित्य र उद्देश्यबारे प्रष्ट पार्दै आफ्नो विचार राखेका थिए ।
विचार गोष्ठीको सहजीकरण पत्रकार जीवन पराजुली र शान्तिप्रियले गरेका थिए ।
कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका झण्डै साढे दुई सय बढी चिरपरिचित अनुहारहरुको उपस्थितिमा रहेको थियो ।
सोही समारोहमा वरिष्ठ अभिनेत्री भुवन चन्द, वसुन्धरा भुसाल र नेपाली चलचित्रकी आमा चैत्यदेवीले सामूहिक रुपमा कलाकार संघद्वारा प्रकाशित २०८१ सालको क्यालेन्डर विमोचन गरेका थिए ।
तस्विरहरुः बद्री थापा
