पश्चिम बङ्गालका पर्यटन व्यवसायीसंग काठमाण्डौमा अन्तरक्रिया
SamacharDesk – बिराज | २०८० चैत्र ७, बुधबार

नेपाल पर्यटन बोर्डले भारतीय सीमा क्षेत्रमा नेपालको पर्यटन प्रर्वद्धन गर्न पश्चिम बङ्गालका पर्यटन व्यवसायीहरुसंग अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड दिन सके यसबाट दुवै देशले फाइदा हुनसक्ने व्यवसायी तथा बोर्डका अधिकारीहरुले बताएका छन् ।
८औं बंगाल ट्राभल मार्ट (बीटिएम–२०२४) को प्रचार प्रसारको लागि नेपाल आएको सिलिगुडीस्थित इष्टर्न हिमालय ट्राभल्स एण्ड टुर एशोसिएशन (इथवा) का पदाधिकारीहरुसंग बुधबार बोर्डमा अन्तरक्रिया आयोजना गरिएको थियो ।
इथवाको आयोजनामा सेप्टेम्बर १४ देखि १५ तारिखसम्म सिलगुडिमा बीटिएम–२०२४ हुन लागेको हो ।
सो अवसरमा पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले पश्चिम बंगाल र दार्जलिङ्ग, सिक्किम लगायतका क्षेत्रबाट पूर्वी नेपालमा घुम्न आउने र नेपालबाट त्यता जाने पर्यटकको संख्या बढिरहेको सन्दर्भमा थप प्रचार र सहजीकरण गर्न सके तेस्रो मुलकका पर्यटकबाट दुवै देश लाभान्वित हुने बताए ।
बोर्डका अर्का प्रबन्धक सुमन घिमिरेले नेपालले समेत क्रस बोर्डर पर्यटनलाई जोड दिंदै नेपाल भारत सीमा क्षेत्रमा विभिन्न मार्टहरु आयोजना गरेको जानकारी दिँदै छलफल तथा अन्तरक्रिया र सहकार्यलाई जारी राख्नुपर्नेमा जोड दिए ।
इथवाका अध्यक्ष देवासिश मिश्राले क्रस बोर्डर पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै तेस्रो मुलुकका पर्यटकबाट लाभ लिन दुवै देशबीचका सीमा क्षेत्रमा अध्यागमन सुविधा अपरिहार्य रहेको बताए ।
त्यस्तै इथवाका महासचिव सन्दिपन घोषले सिलगुडिमा आयोजना हुन लागेको बीटिएम–२०२४ मा नेपालको सहभागिताले नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए ।
गतवर्ष नेपालको कोशि प्रदेश नाटा र भारतको पश्चिम बङ्गालको पर्यटन गन्तव्यहरूको एकैसाथ प्रचार र प्रवर्ध्दन गर्ने उद्देश्यले नेपाल र भारतका पर्यटन व्यवसायीबीच झापामा सम्झौतामा हस्ताक्षर समेत भएको थियो ।
सोही अनुरुप पर्यटन बोर्डको पहलमा भारतीय पर्यटन व्यवसायीहरको टोली नेपाल आएको हो ।
Categorized in बिजनेस