arin enterprises

‘मानव जीवनका लागि योग’ नारासहित योग दिवस मनाईंदै

SamacharDesk | २०७९ आषाढ ७, मंगलबार

अन्तर्राष्ट्रिय योग दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

‘मानव जीवनका लागि योग’ भन्ने नारासहित अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो ।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए। प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गरेका थिए ।

योगको अर्थ जोड्नु हो । योगक्रियाले मानिसको चेतना र शरीरबीचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई योग भनिने र योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ ।

पछिल्लो समय व्यस्त जीवनशैलीले गर्दा मानिसमा शारीरिक र मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेको छ । 

पहिले पहिले नेपाललगायत विश्वका विभिन्न देशहरुमा सर्ने रोगबाट मानिसहरुको बढी मृत्यु हुन्थ्यो भने आजभोलि त्यसको उल्टो नसर्ने रोगजस्तै मधुमेह, मुटुरोग, क्यान्सर, विभिन्न किसिमका मानसिक रोगका कारण मानिसको मृत्यु हुनेगरेको विभिन्न अध्ययनहरुले देखाएको छ । 

योगले नसर्ने रोगको नियन्त्रण तथा रोकथाम गर्न महत्वपूर्ण भुमिका खेल्ने प्रमाणित नै भइसकेको छ । यसैले दीर्घजीवन र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न पनि आजको व्यस्त जीवनमा योग अनिवार्य भइसकेको देखिन्छ । 

दिवसको अवसरमा नेपाल पनि योगाभ्यास सम्बन्धि कार्यक्रमहरु आयोजना गरिएका छन् । टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री देउवासहित मन्त्रीहरु र उच्च पदस्थ ब्यक्तिहरु पनि योगाभ्यासमा सामेल भएका छन् ।

उता, सशस्त्र प्रहरी मूख्यालय हलचोकमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँड सहभागी हुनुभयो । देशका अन्य भागमा पनि योगाभ्यास सम्बन्धि कार्यक्रमहरु गरिएका छन् ।

 

Categorized in राष्ट्रिय