arin enterprises

आज अन्तर्राष्ट्रिय बाघ दिवस मनाइन्दै

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ श्रावण १३, शुक्रबार

आज जुलाई २९ तारीख, अर्थात बाघ दिवस । हरेक वर्ष आजको दिनमा विभिन्न कार्यक्रमहरु गर्दै बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले बाघ दिवस भनेर मनाउने गरिन्छ ।

आजको दिन बाघको संरक्षण गर्न भनेर उनीहरुको बासस्थलको संरक्षण, बाघको संख्यामा आएको र्‍हासबारे जनचेतना दिने, उनीहरुको संरक्षणका मुद्दाहरुको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरुको सराहना र प्रोत्साहन गरी मनाइन्छ ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा पहिलो अन्तर्राष्ट्रिय बाघ सम्मेलनको आयोजना गरिएको थियो ।  सोही सम्मेलनले हरेक वर्ष अन्तर्राष्ट्रिय रुपमै बाघ दिवस मनाउने घोषणा गरेको थियो ।

तत्कालीन समयमा रुसका तत्कालिन प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व बैंकका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रमको थालनी गरिएको थियो ।

त्यस यता हरेक वर्ष आजकै दिनमा अन्तर्राष्ट्रिय बाघ दिवस मनाउँदै आएको छ । कुनै समय जताततै पाइने बाघ अहिले लोपोन्मुख प्राणीको सूचीमा परेको छ । जंगल फँडानीका कारण बासस्थलको कमी, जलवायू परिवर्तन, अवैध चोरी शिकारी बाघको संख्या घट्नुको मुख्य कारण मानिएको छ ।

२० औँ शताब्दीको पूर्वाद्धमा बाघको जनसंख्या १ लाख रहेको थियो ।  यो संख्यामा ९०% प्रतिशतले र्‍हास आई अहिले ३ हजार २ सयमा झरेको तथ्यांकले देखाउँछ ।

बाघको संख्या कम हुँदै गएको यो अवस्थालाई नियन्त्रणमा ल्याउन १३ मुलुकहरु मिलेर सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्यसहित अघि बढिरहेका छन् । विभिन्न पशुपन्छीको संरक्षणको क्षेत्रमा सक्रिय संस्थाहरुको सहयोगमा यी १३ मूलुकहरु मिलेर काम गरीरहेका छन् ।

यी १३ देशमा भारत, नेपाल, भुटान, बंगलादेश, कम्बोडिया, चीन, लाओस, म्यानमार, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया र रुस रहेका छन् । बाघ घना जंगलमा बस्ने एक मांसाहारी जनावर हो ।

यसले अरु जीवहरुको शिकार गरी वातावरणीय सन्तुलनमा सहयोग गर्छ । बाघलाई संरक्षणका लागि ठुलो क्षेत्रफल चाहिने भएकाले ठूलै जंगल संरक्षण गर्नुपर्ने हुन्छ ।

यसरी जंगलको संरक्षण गर्दा अन्य पशुपन्छीहरुले पनि बासस्थान पाउने भएकाले बाघलाई महत्वपूर्ण प्रजातिको रुपमा लिइएको छ ।

Categorized in समाज