आनन्दकुटीमा तयार भयो आइशोलेशन
SamacharDesk – बिजयरत्न | २०७८ बैशाख २४, शुक्रबार

संघीय सांसद जीवनराम श्रेष्ठको स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेटबाट काठमाडौंको स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठमा ५० बेडको कोभिड आइसोलेसन केन्द्र सञ्चालन गरिने भएको छ ।
आइसोलेसन केन्द्र सञ्चालनबारे जानकारी दिन आज एक पत्रकार सम्मेलनको आयोजना गरी सांसद श्रेष्ठले कार्यक्रमको कूल बजेटमध्ये १ करोड ५० लाख ४० हजार रुपैयाँको लागतमा आइसोलेशन बनाइएको बताउनुभयो ।
उनले कोरोनाको पहिलो लहर चलेकै समयमा आइसोलेशन सेन्टर बनाउने योजना रहेको भएपनि सो समयमा स्थिती केही साम्य हुँदै गएपछि रोकिएकोमा अहिले पुनः कोरोनाको महामारी बढेपछि आइसोलेसन संचालन गर्न लागिएको बताउनुभयो ।
कोरोना भाईरसबाट संक्रमित भएका व्यक्तिहरु स्वच्छ र सकारात्मक वातावरणमा सुरक्षित रहनका लागि यो सेन्टर सञ्चालन गर्न लागिएको श्रेष्ठको भनाई हो ।
‘यसै हप्ताबाट सेन्टर सञ्चालनमा ल्याउने हाम्रो योजना हो । तर स्वास्थ्य मन्त्रालयबाट स्वीकृतिका लागि सम्झौता भइसकेको छैन’, सांसद श्रेष्ठले भन्नुभयो, आउँदो सोमबारबाट यसको सुरुवात गर्ने लक्ष्य छ ।’
यहाँ आइसोलेशनमा बस्नेहरुका लागि स्वास्थ्य निगरानीका लागि आवश्यक स्वास्थ्यकर्मीहरु फेक्ट नेपालले उपलब्ध गराउने वचन दिइसकेको बताइएको छ ।
त्यस्तै व्यवस्थापनका लागि सांसद श्रेष्ठका स्वकिय सचिव साथै आइसोलेसन सेन्टरका संयोजक भीमसेन राजबाहकले आवश्यक पहल गर्नेछन् ।
सेन्टर सञ्चालनका लागि सुशिल श्रेष्ठको नेतृत्वमा व्यवस्थापन समिति रहेको र उनकै नेतृत्वमा आनन्दकुटीको जीर्ण र प्रयोगविहिन भवनको मर्मत सम्भार तथा आवश्यक निर्माण कार्यहरु गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
केन्द्र सञ्चालन हुने क्षेत्रको पत्रकारहरुलाई स्थलगत निरीक्षण गराउँदै श्रेष्ठले आनन्दकुटीमा खालि रहेको भवनको १४ वटा कोठाहरुमा ३ वटा बेडका हिसाबले ५० बेडको आइसोलेशन सञ्चालन गर्ने र स्वास्थ्यकर्मीहरुका लागि छुट्टै भवनको व्यवस्था गरिएको जानकारी दिए ।
कोभिड आइसोलेसन सञ्चालनका लागि कामपा १५ वडाका अध्यक्ष इश्वरमान डंगोलले वडालाई प्राप्त भएको ५० थान ब्लाङ्केट सेन्टरलाई हस्तान्तरण गरेका छन् । त्यस्तै समाजसेवी पटना डंगोलले आफ्नो जन्मदिनको अवसर पारेर सेन्टर सञ्चालनका लागि पाँच हजार रुपैयाँ चन्दा दिएकी छन् ।
Categorized in समाज