arin enterprises

नरदेवी आयुर्वेदिक अस्पतालमा आइसोलेसन सन्चालनमा

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ ७, शुक्रबार

नरदेवी आयुर्वेदिक अस्पतालमा आजबाट एचडीयुसहित ५० वेडको आइसोलेसन सञ्चालनमा आएको छ । आज सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, महानगरका प्रमुख विद्यासुन्दर शााक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले संयुक्त रुपमा आइसोलेसनको शुभारम्भ गर्नुभयो ।

अस्पतालको क्षमता ११८ वेडको छ भने शुरुवातमा २५ वेडको एचडीयू र २५ वेडको आइसोलेसनबाट सेवा थालिएको हो ।

आइसोलेसन शुभारम्भ पछि बोल्दै राज्यमन्त्री मानन्धरले विगतमा कमजोरी भएकै कारण अहिले अक्सिजनको अभाव देखिएको स्वीकार्दै अब सरकारले यसलाई सुधार्ने दावी गर्नुभयो ।

सो अवसरमा राज्यमन्त्री मानन्धरले भन्नुभयो, ‘अस्पतालहरुकाबीच सञ्जाल विस्तार गरेर विरामीहरुको उपचार प्रक्रियालाई व्यवस्थित गर्दै जानुपर्छ, अस्पतालको क्षमता बढाउँदै जाऔँ । यससँगै संक्रमणको मात्रा घटाउनमा ध्यान दिनुपर्छ । ’

त्यसैगरी महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जनताको जीवन रक्षाका लागि महानगरले स्वास्थ्य क्षेत्रमा लगानी बढाएको जानकारी गराउनुभयो ।

‘जनताको जीवन बचाउनु स्थानीय सरकारको जिम्मेवारी हो, यो दायित्वलाई बोध गरेर हामीले विकास खर्च रोकेर भएपनि स्वास्थ्य क्षेत्रमा खर्च बढाएका छौँ’ शाक्यको भनाई हो ।

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, काठमाडौं महानगरपालिका १८ वडाका वडाध्यक्ष न्हुच्छेकाजी महर्जन, आयुर्वेद विभागका महानिर्देशक बासुदेव उपाध्यायलगायतले महामारी नियन्त्रणका लागि सामूहिक प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।

अस्पतालले संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि, अक्सिजन थेरापी, ध्यान योग र मनोसामाजिक परामर्श, प्राणायाम लगायतका विधि अपनाउने बताएको छ ।

अस्पतालले आयुर्वेदतर्फ ७ जना र आधुनिक चिकित्सातर्फ २ जना कन्सल्ट्यान्टसहित आयुर्वेद चिकित्सक, मेडिकल अफिसर, नर्सिङ् स्टाफ, फिजियोथेरापिस्ट, आयुर्वेद स्वास्थ्यकर्मी लगायतलाई आइसोलेसनमा खटाएको छ ।

आइसोलेसन सञ्चालन गर्न काठमाडौँ महानगर र अस्पतालविच गएको बैशाख २७ गते सम्झौता भएको थियो । सम्झौता अनुसार एकपटक खरिद गरेर पुग्ने उपकरण तथा सामाग्रीका लागि र नियमित खर्च गर्नु पर्ने कामका लागि महानगरले अनुदान उपलब्ध गराउने छ । 

Categorized in समाज