सामाखुसीमा अक्सिजन थेरापीसहितको आइसोलेसन शुरु
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ ७, शुक्रबार

काठमाडौँको सामाखुशीमा आजबाट राधास्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सुरु भएको छ ।
आज एक कार्यक्रमका बीच उपप्रधानमन्त्री ईश्वर पोखरेलले सेन्टरको शुभारम्भ गर्नुभयो ।
सेन्टरमा हाल ८८ वेड अक्सिजन र ९६ साधारण बेड रहेको छ । आवश्यकताका आधारमा ९६ वेडलाई पनि अक्सिजनसहितको बनाउँदै लगिने बताइएको छ ।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले अक्सिजनको सहज व्यवस्थापन र भ्याक्सिन ल्याउने कुरालाई सरकारले जसरी पनि पूरा प्रतिवद्धता व्यक्त गर्नुभयो ।
‘उपत्यकाका अक्सिजन उद्योगले दैनिक करीव ८ हजार लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्छन्, अहिलेको माग करीब १६ हजार लिटर हो । यसलाई घटाउनु हाम्रो दायित्व हो’ उपप्रधानमन्त्री पाखरेलको भनाइ थियो ।
कोभिडको संक्रमण घटाउनु र अस्पतालमा विरामीको चाप घटाउनु नै अहिले सरकारको प्राथमिकतामा रहेको पोखरेलले बताउनुभयो ।
त्यस क्रममा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महामारी रोक्न सबै पक्षलाई सहभागिताका लागि अपिल गर्नुभयो । उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले विकास बजेट कटाएर महामारी नियन्त्रणका लागि खर्च गरिरहेको जानकारी गराउनुभयो ।
काठमाडौँ महानगरपालिकाको आर्थिक अनुदानमा सुरु भएको यो सेन्टर नेपाली सेनाले सञ्चालन गर्नेछ । नेपाल सरकार, कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र, काठमाडौँ महानगरपालिका, नेपाली सेना उपत्यका पृतना, हेड क्वाटर, वीरेन्द्र अस्पताल छाउनी, राधास्वामी सत्संग व्यास र अमेरिका नेपाल मेडिकल फाउन्डेसन सेन्टरका सरोकारवाला हुन् ।
सेन्टर सञ्चालनका लागि छलफल गर्न महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ बैशाख २२ गते उपत्यका पृतना हेडक्वाटर गएर अधिकारीहरुसँग छलफल गर्नुभएको थियो ।
त्यसपछि बैशाख ३१ गते वीरेन्द्र सैनिक अस्पतालसँग सम्झौता भएर सम्झौताबमोजिम काम थालनी गर्न महानगरले पहिलो किस्तास्वरुप २ करोड रुपैयाँ उपलब्ध गराएको थियो । त्यसपछिको खर्च लागतका आधारमा महानगरले अनुदान स्वरुप उपलब्ध गराउने बताइएको छ ।
सेन्टर सञ्चालन गर्न गएको बर्ष २०७७ साल कार्तिक १४ गते मन्त्रीपरिषद्ले निर्णय गरेको थियो । त्यसपछि कोभिडको संक्रमण दर घट्न थालेपछि आइसोलसन निर्माणमा पनि ढिलाइ भएको थियो ।
कोभिडको दोस्रो लहर सुरु भएपछि काठमाडौँ महानगरले कोभिड रोकथाम र नियन्त्रणका लागि छलफल गर्न २०७८ बैशाख १४ गते विशेष कार्यपालिका बैठक बोलाएर राधास्वामी भवनमा आइसोलेसन सेन्टर सञ्चालन गर्नेलगायत विभिन्न निर्णय गरेको हो ।
Categorized in समाज