स्पेनलाई हराउँदै इटाली फाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ २३, बुधबार

स्पेनलाई हराउँदै इटाली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति इंग्ल्यान्डको वेम्बलीमा भएको पहिलो सेमिफाइनलमा तीन पटक युरो च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो ।
पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे भने म्यानुएल लोकाटेलीले गोल गर्न सकेनन् ।
स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गर्दा डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।
पेनाल्टीमा खेल जानु अघि दुबै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए ।
दोस्रो हाफमा भने इटालीले सुरुवाती अग्रता बनाएको थियो । खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८० औं मिनेटमा परिवर्तित खेलाडी अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा फर्काए ।
खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको पेनाल्टी सुटआउटमा इटालीले बाजी मार्यो ।
यो जितसँगै इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो ।
अब इटालीले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।
Categorized in स्पाेर्ट्स